गुठी विधेयक फिर्ता लिने सरकारी शैलीको आलोचना, सरकारकाे कार्यशैलीप्रति प्रतिपक्षकाे आपत्ति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिने सरकारी शैलीको आलोचना गरेको छ । संसद चलेको समयमा सम्बन्धित मन्त्रीले सदनमै फिर्ता लिनुपर्नेमा बाहिर गएर फिर्ता लिएको कांग्रेसको आरोप छ ।

प्रतिनिधिसभाको अाजको बैठकको शुरूमै सभामुखसँग समय लिएर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सदन चलेको समयमा बाहिर गएर विधेयक फिर्ता लिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘संसद चलेको बेला बाहिर गएर विधेयक फिर्ता लिनु हुन्छ ? मन्त्रीले फिर्ता लिने हो ? यहीँ लिएको भए भइहाल्थ्यो नि, कहाँको संसदीय व्यवस्था हो ?,’ देउवाले प्रश्न गरे ।

देउवाले सदन प्रतिपक्षको र सरकार सत्ता पक्षको भन्ने संसारभरको मान्यता रहेको दाबी गर्दै हिजो पहिला आफूले बोल्न पाउनुपर्ने दलिल गरे । ‘हिजो मैले पहिले समय मागिसकेको थिएँ, मैले पहिला बोलेको भए प्रधामनन्त्रीले मेरो जवाफ दिन पाउनुहुन्थ्यो, जतापनि सदन प्रतिपक्षको हो,’ देउवाले भने, ‘यहाँ उल्टा भएको छ । प्रतिपक्षले बोल्नमा प्रतिबन्ध लगाउन खोजियो । संसद नै विपक्षको हो, संसारभरिको मान्तया हो, ठीक उल्टा जबरजस्ती गरियो ।’