बझाङ जीप दुर्घटना अपडेट: मृतककाे संख्या १० पुग्याे


बझाङ । बझाङमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै ज्यान गएको हो ।

दुर्घटनामा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । अन्य २ जना घाइतेको जिल्ला अस्पताल सिमखेतका उपचार भइरहेको छ ।

दुर्घटनामा एकै गाँउका ७ जनाको ज्यान गएको छ भने एकै परिवारका ३ जनाको ज्यान गएको नेकपाका जिल्ला सदस्य तथा स्थानीय रामचन्द्र रोकायाले जानकारी दिए । मष्टा गाउँपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको ज्यान गएको हो ।

यस्तै यही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्काको ज्यान गएको छ । यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको ज्यान गएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माहानन्द जोशीले जानकारी दिए ।

घाइते भएका पाँचमध्ये तीन जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दीप ओखेडाले बताए । मष्टा गाँउपालिका– १ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक द्वाललाई नेपालगञ्ज लगिएको हो । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको डाक्टर ओखेडाले बताएका छन् ।

मष्टा गाउँपालिका–१ कै ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ । मृतक सबैको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मष्टा गाउँपालिका–१ शोकमा डुबेको छ । क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।