विपद्को उच्च जोखिममा ग्रामीण बस्ती


विमल विष्ट, डोटी
डोटी जिल्लाका अधिकाँस ग्रामीण बस्तीहरु विपद व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाईएको छ । जिल्लामा भिरालो स्थानमा परम्परागत प्रबिधिबाट घर निर्माण गरिनु, वनजंङ्गलको फडानी तथा विना प्राबिधिक डोजरद्धारा सडक निर्माण गरिएका कारण बाढी पहिरोको उच्च जोखिम हुनु, भौगोलिक बनावटका कारण भुकम्पिय जोखिम रहेको शहरी बिकास डिभिजन कार्यालय दिपायल राजपुरले जनाएको छ ।

शहरी बिकास डिभिजन कार्यालय दिपायल, राजपुरका प्राबिधिक रामचन्द्र बिसिले डोटी जिल्लाको भौगोलिक बनावट अनुसार बिद्यालय तथा समुदायमा भुकम्प प्रतिरोधी भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो । परम्परागत रुपमा निमार्ण गर्दा लाग्ने खर्चको १० प्रतिशतमात्रै थप गर्दा भौतिक संरचना भुकम्प प्रतिरोधि हुने भएकाले प्राबिधिकको सल्लाह अनुसार बिद्यालय तथा समुदायमा भुकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माण गर्न र भौतिक विपद जोखिम न्युनिकरणका लागि समुदायको उत्थानशिलता वढाउन आवश्यक रहेको बिसिले थप बताउनुभयो ।

यस्तै बिगत लामो समय देखि बिपद जोखिम न्यूनिकरणका क्षेत्रमा कार्यरत सामुदायिक बिकास केन्द्र डोटीका बिपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले डोटीका ग्रामीण बस्ती विपद ब्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको बताउनुभयो । बाक्लो ग्रामीण बस्ती, कमजोर भौतक संरचना र विपद ब्यवस्थापनबारे न्यून जानकारीका कारण बिद्यालय तथा समुदाय विपदबाट असुरक्षित रहेको बिपद्को क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको भनाई रहेको छ ।

सामुदायिक बिकास केन्द्र डोटीले जिल्लाका १४६ वटा बिद्यालयमा गरेको एक सर्भेक्षणमा ८ प्रतिशत बिद्यालयमा मात्र विपद जोखिम न्यूनिकरणका विषयमा आधारभूत जानकारी र योजना रहेको पाईएको छ भने समुदायमा बिपद ब्यवस्थापनको बारेमा न्यून जानकारी रहेको पाईएको जनाएको छ ।

विपद ब्यवस्थापनका दृष्टिले जोखिमयुक्त देखिएका २ वटा गाउंपालिका र १ नगरपालिकाका १० वटा बिद्यालयमा करिब रु ५ करोडको लागतमा भुकम्प प्रतिरोधी भवन निर्माण गर्ने कार्यक्रम रहेको, २६ जना दक्ष कामदारहरुलाई भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रबिधि सम्बन्धि सात दिने ढुङ्गे डकर्मी तालिम, ३० वटा बिद्यालयमा बिद्यालयमा आधारित विपद जोखिम न्यूनिकरण योजना निर्माणमा सहयोग, बिद्यालय सुधार योजनामा विपद जोखिम न्यूनिकरण योजना समाबेश, बिद्यालयमा सुरक्षित स्थानको पहिचान, प्राथमिक उपचारको ब्यवस्था, समुदाय स्तरमा आम सचेतिकरणका कार्यक्रमहरु सञ्चालन भईरहेको सामुदायिक बिकास केन्द्र डोटीले जनाएको छ ।