निर्वाचन आयोगमा समाजवादी पार्टी नेपाल


नेपाल समाचारपत्र, काठमाडौं
नयाँ बनेको समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतले बिहीबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिनुभएको हो । समाजवादी पार्टीको झण्डा पूर्वसमाजवादी फोरमकै हुनेछ भने चुनाव चिह्न छिट्टै बुझाउने गरी दल दर्ता गरिएको छ । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४ सय ३० जना केन्द्रीय सदस्य छन् ।

दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले संविधान र कानुनी प्रावधानअनुरुप समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको बताउनुभयो । उहाँले देशमा सुशासन र दिगो विकास लागि समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

आयोगको दल दर्ता प्रक्रियाअनुसार ४५ दिनभित्र दलको टुङ्गो लाग्ने तथा प्राप्त निवेदन विस्तृत अध्ययनपछि निर्णय लिइने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । राजनीतिक दल दर्ता ऐन, २०७३ अनुसार निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने व्यवस्था छ । निर्वाचन अयोगमा हालसम्म १ सय ३० राजनीतिक दल दर्ता भएका छन् ।