दुर्घटनामा परी दुई भारतीय तीर्थयात्रीको मृत्यु, २१ जना घाइते


काठमाडौं । पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भएको दुर्घटनामा परी दुई जना भारतीय भारतीय तीर्थयात्रीको मृत्यु भएको छ भने २१ यात्रु घाइते छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को१ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

ठक्करबाट भारतको उपरासाही नेयर खण्डाला मन्दिर जगामारा भुवनेश्वर खोडदाहा उडिसाका ५४ वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

राजमार्गमा राति १ बजे तीर्थयात्रीलाई शौच गराउन रोकेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुहरु जनकपुर मन्दिर दर्शनका लागि हिडेका थिए ।

बसचालक झापा मेची नगरपालिका–१० का दुर्गाप्रसाद पौडेलको छातीमा चोट लागेको छ ।

त्यसैगरी भारतका तीर्थयात्री सज्यकान्ति प्रधान, मञ्जु विष्डा, सुन्दरि वस्तिया, शौरी विहारा लगायतका घाइते छन् । विहाराको हात भाँचिएको छ ।

शरीरका बिभिन्न भागमा चोट लागेका सर्वेश्वर जेना र शेषादेव जेनालाई थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।