यातायात मन्त्रीकै गाडी खोलामा डुब्याे


काठमाडौं । पक्की पुलको शिलान्यास गरेर फर्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा२झ ४०२९ नम्बरको झण्डाबाल गाडी अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो ।

खोलामा डुबेको गाडीको इन्जिनमा पानी पसेपछि मन्त्री महासेठ अर्को गाडीमा फर्किएका थिए । मन्त्री महासेठले शिलान्यास गरेर फर्किंदा सामान्य घटना भएको र गाडीमा कुनै पनि क्षति नभएको बताए। पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ।

यसैबीच अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्दै मन्त्री महासेठले सरकारको अबको एजेण्डा विकास भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै बताए । उनले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको पनि जानकारी गराए ।

पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए ।