नेपाली कांग्रेसले ग-यो ‘गाडी स्टार्ट’


रामकृष्ण चापागाई, काठमाडौं ।
संसदको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको पहिलो चरणले गाडी स्टार्ट गरेको निष्कर्ष निकालेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘पहिलो चरणको अभियानले गाडी स्टार्ड भएको छ । दोस्रो चरणको अभियानले गाडी हाइवेमा आउने र तेस्रो चरणको अभियानले गाडी कुद्ने छ ।’

पहिलो चरणको एकमहिने कार्यक्रम जिल्ला केन्द्रित थियो । महाधिवेशनबाट पारित प्रस्तावहरुका साथै पार्टीको संशोधित विधान र पार्टीको आगामी कार्यदिशाबारे आम कार्यकर्तालाई जागरुक बनाउने उद्देश्यले अभियानको आयोजना गरिएको थियो ।

प्रवक्ता शर्माले पहिलो चरणको जागरण अभियान सफल भएको भन्दै देशव्यापी रुपमा आम कार्यकर्तालाई उर्जा प्रदान गरेको बताउनु भएको छ । वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालित पहिलो चरणको अभियानको बारेमा भोलि मंगलबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने कार्यक्रम छ ।

तीन चरणमा गर्न लागिएको यो अभियान अन्तर्गत दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गतेसम्म १५ दिन र तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन गर्ने तयारी छ । पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित भएपनि दोस्रो चरणमा प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ–नगर केन्द्रित हुने काग्रेसले जनाएको छ ।

नेतृत्वमा गुट–उपगुट र आन्तरिक लुछाचुँडी नहटेसम्म पार्टीले गति नलिने टिप्पणी कार्यकर्ताहरुको छ । कांग्रेस निकट प्राध्यापक संघका नेता माधव तिमल्सिना यो अभियानले केन्द्रदेखि गाउँसम्म फैलिएको गुट–उपगुट झन मजवुत हुने हो कि भन्ने चिन्ता लागेको बताउनुहुन्छ । ‘जागरण अभियानले आम कार्यकर्ता नेकपाको सरकारविरुद्ध जागृत भए कि आफ्नै पार्टीविरुद्ध जागृत भए गम्भीर समीक्षा गर्नुपर्छ’ तिमल्सिनाले भन्नुभयो ।

पहिलो चरणको जागरण अभियानमा केन्द्रिय नेतादेखि क्रियाशील कार्यकर्ता समेतले एकले अर्कोलाई आरोप–प्रत्यारोप गरेको गुनासो जताततैबाट आएपछि प्रवक्ता शर्मा दोस्रो चरणको अभियानमा पहिलो चरणको अभियानमा भएको कमी–कमजोरी सच्चाएर अघि बढ्ने बताउनुहुन्छ ।