चार मुलुकमा राजदूत सिफारिस


काठमाडौं, (नेस)
सरकारले विभिन्न चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बंगलादेश, अस्ट्रेलिया, कतार र स्पेनका लागि नयाँ राजदूत सिफारिस भएका हुन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले बंगलादेशका लागि एमाले नेता डा. वंशीधर मिश्र, कतारका लागि डा. नारद वाग्ले भारद्वाज, अस्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूत सिफारिस गरेको हो । उहाँहरुको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरिएको छ । पूर्वस्वास्थ्यराज्यमन्त्री मिश्र सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा निकट मानिनुहुने भारद्वाज झापा काण्डमा ओलीसँगै लामो समय जेल पर्नुभएको थियो भने उहाँ त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा अध्यापन गर्नुहुन्छ । अस्टे«लियका लागि राजदूत सिफारिस हुनुभएका दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष हुनुहुन्छ । स्पेनका लागि सिफारिस हुनुभएकी शेर्पा पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ ।

सरकारले यसअघि बंगलादेशबाट डा. चोपलाल भुसाल, कतारबाट रमेश कोइराला र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएपछि ती मुलुक राजदूतविहीन थिए । मानव तस्करीको विवादमा तानिएपछि यसअघि अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले राजीनामा दिनुभएको थियो । सरकारले अहिले चार मुलुकमा राजदूत सिफारिस गरे पनि दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि नेपाली राजदूत पद रिक्त छ ।