जातिय विभेदः कुवाको पानी खाएको निहुँमा कुटपिट



विनोद सिंह विष्ट, बैतडी ।

कुवाको पानी खाएको निहुँमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ सैनीमा तुलसी सार्की माथि कुटपीट भएको छ । तुलसी माथि स्थानीय सीता पार्कीले कुटपीट गरेकी हुन् ।

खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपीट गरेको तुलसीका देवर शंकर सार्कीले बताउनुभयो । दलित भित्र तल्लोजाती भनेर विभेद गर्ने गरेकै कारण कुटपीट भएको उहाँले बताउनुभयो । हिजो दिउँसो घटना भएको भएपनि आज खोचलेक प्रहरीमा आएपछि घटना सार्वजनिक भएको हो ।

प्रहरीले भने कुटपीट भएको भन्ने निवेदन आएको तर जातीय विभेदको कुरा निवेदनमा उल्लेख नभएको जनाएको छ । तुलसीको पाखुरा र आँखाको नजिक घाउ रहेको तुलसीका देवर शंकरले बताउनुभयो ।

घाइते तुलसीको पाखुरा र आँखामा चोट लागेको छ । उहाँलाई उपचारका लागि धनगढी लैजाने सहमति भएको छ । पहिला उपचार गरेर त्यसपछि मिलापत्र गर्ने सहमति भएको शंकर सार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्