तीन वटा सबस्टेसन सञ्चालनमा


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले एकैपटक तीन वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ। सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेसनको परीक्षण गरी सञ्चालन ९चार्ज०मा ल्याइएको हो। सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमश ः बोदेबर्साइन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो।

त्यस्तै बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ। प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेसन निर्माण शुरु गरेको थियो।

सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। ‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौं’, घिसिङले भन्नुभयो–‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौं।’

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेसनको निर्माण भइरहेको छ। एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ। यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सबस्टेसन सञ्चालनमा आइसकेका छन्। त्यसमध्ये चालू आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा ५ वटा सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो। ‘सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, बत्ती नबल्नेलगायतका समस्या झेल्दै आएका रहेछन्, सोमबारबाट बोदेबर्साइन सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि सबै समस्या समधान भयो, उपभोक्ताहरू खुसियाली मनाउन सबस्टेसनमै आए, यस्तै खुसियाली सबै ठाउँमा देखिएको छ,’ ढकालले भन्नुभयो।

धामपुर सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता लाभान्वित हुने छन्। सबस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो। सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ।