ईश्वरराज ढकाल, काठमाडौं
देशभर अहिलेसम्म २८ लाख ९० हजार ९ सय १९ बिरुवा रोपिएका छन्। तीमध्ये २३ लाख १६ हजार ७ सय ३९ फलफूल र ५ लाख ७४ हजार १ सय ८० अन्य बिरुवा छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको एक प्रतिवेदनमा सरकारले शुरू गरेको एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियानअन्तर्गत देशभर विभिन्न स्थानको खाली जग्गामा फलफूलका बिरुवा रोप्न थालिएको हो। यस वर्ष पनि जुन ५ का दिन देशैभर फलफूलका बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिइने भएको छ। प्रम कार्यालयले सबै विद्यालयको खाली जग्गामा फलफूलका बिरुवा रोप्न निर्देशन दिएको बताइएको छ। सोही निर्देशनअनुसार देशका करिब ३५ हजार सरकारी विद्यालयको खाली जग्गामा फलपूmलका बिरुवा रोप्न दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता एवं उपमहानिर्देशक दीपक शर्माले बताउनुभयोे।
उहाँका अनुसार केन्द्रले यही जेठ १९ गते ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएर विरुवा रोप्न निर्देशन दिएको हो। विद्यालयले फलफूलका बिरुवा रोपेपछि केन्द्रलाई जानकारी दिन समेत आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गतवर्ष हरित विद्यालय निर्देशिका जारी गरेको निर्देशिकाअनुसार विद्यालयको खाली जग्गामा फलफूलका बिरुवा रोप्न निर्देशन दिइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिरुवा रोप्ने अभियानमा निरन्तरता दिई नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन खाली जग्गामा बिरुवा रोप्न सबै निकायलाई निर्देशन दिएको छ। निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर ढुंगानाको अध्यक्षतामा समिति गठन गरिएको छ। यस्तै गृह मन्त्रालयले रोपिएका बिरुवा संरक्षण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभरका सबै सामुदायिक विद्यालय र विश्वविद्यालयमा बिरुवा रोप्नुपर्ने, ७ सय ५३ स्थानीय तहको स्वामित्वमा रहेको खाली जग्गामा बिरुवा रोप्न निर्देशन दिन संघीय मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको थियो। विभिन्न निकायले रोप्ने बिरुवा तालुकदार मन्त्रालय र कार्यालयबाट उपलब्ध गराइनेछ। एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियानलाई नागरिक स्तरसम्म पु¥याई निजी जमिनमा समेत मौसम अनुकूलका वृक्षरोपण गर्न कृषि तथा वन कार्यालयलाई आग्रह गर्ने र सो कार्यालयले संघीय मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ।
प्रत्येक स्थानीय तहलाई हरेक वर्ष वृक्षरोपण कार्यक्रमलाई वार्षिक कार्यक्रमका रूपमा समावेश गर्ने, जिल्लाभरिमा फलफूलका बिरुवाको माग संकलन गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत हरेक प्रदेशमा एक फलफूल जोन स्थापना गरी प्रत्येक जिल्लामा विस्तार गर्ने जस्ता निर्देशन दिइएको छ। काठमाडौं महानगरपालिकाले पनि महानगर क्षेत्रलाई हरित नगरी बनाउन विभिन्न नदी किनारामा वृक्षरोपण गर्ने भएको छ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले यस वर्ष विष्णुमती, धोबीखोलालगायत नदी किनारामा करिब एक दर्जन प्रजातिका बिरुवा रोपिने जानकारी दिनुभयो। उहाँका अनुसार सो क्षेत्रमा एभोकाडो, धुपी कटुस, कपुरलगायतका बिरुवा रोपिनेछ। कामपाले ५ फिटभन्दा माथिका वृक्ष रोप्नेछ।
प्रतिक्रिया