नाक थुने पनि आँखा फोहोरतिर !


हेटौंडा ।
दुर्गन्धको पर्याय फोहोर । नाक खुम्च्याउने, नाकमुख दुवै थुन्न बाध्य पार्ने पनि फोहोर । तर, त्यही फोहोर उहाँका लागि अवसरको माध्यम बनेको छ ।
विहान ४ बज्न नपाउँदै धोक्रो ठीक पार्न थाल्नुहुन्छ उहाँ । अनि, सोच्नुहुन्छ हेटौंडा बजारको कुन चाहिं ठाउँमा जाने भनेर । उहाँ हेटौंडा–१०, राप्तिरोडका डम्बरबहादुर लामा । विहान ४ बजे घरबाट निस्किनु हुने करिब ३५ वर्षीय उहाँ बेलुकीमात्र घर पुग्नुहुन्छ ।
लामा घरबाहिर निस्किएपछि ‘कवाडी’, ‘खाते’ र ‘फोहोर’ उपनामले चिनिनुहुन्छ । घरअगाडि फोहर संकलन गर्न गाडी अथवा मानिस आउँछन् । दैनिकरुपमा घरबाट निस्किएका प्लाष्टिकका फोहोर तिनै ‘कवाडी’ भनिनेले लगेर घरलाई सफा बनाउने कार्यमा सघाउँछन् ।

सामान्य पढलेख गर्नुभएका उहाँलाई काम त अरु नै गर्न मन थियो रे । तर, हाल उहाँको मन फोहोरमा आएर बास बसेको छ । १० वर्षदेखि हेटौंडामा बोतल, कापी, कार्टुन भन्दै घरघर हिँड्ने ‘कवाडी’ को सेवा दिनुहुन्छ उहाँ ।

फोहोर जसलाई पनि पर धकेल्ने चिज । तर, लामालाई भने यही फोहोरले नजिक तान्छ । फोहोरकै व्यबसाय, यसैमा अवसर अनि वातावरणमा सकारात्मक प्रभाव पर्ने देखेर लाग्नुभएका उहाँमा फोहोरको डंगुर देखेपछि चासो बढ्छ ।

कतै हिँड्दा फोहोरको गन्ध आए अरुले नाक थुन्छन्, सकेसम्म त्यता हेर्नु नपरोस् भन्ने जस्तो गर्छन् । उहाँले भन्नुभयो–म पनि नाक त थुन्छु तर आँखा भने त्यतै जान्छ । त्यहाँ हेर्छु, कस्तो खालको फोहोर हो भनेर । अनि, ‘फोहरधनी’ सँग सम्पर्कको प्रयास गर्छु । मलाई त फोहोरले पर लैजाने होइन, नजिक पो तान्छ त ।

घर तथा पसलपसल चहारेर कतिको भनाइसमेत खानुपर्ने दुःखेसो उहाँले गर्नुभयो । धोक्रोभरि पानीका रित्ता बोतल, कार्टुन, कापीलगायत उहाँले स्क्र्याब कारखानामा लगेर बुझाउनुहुन्छ । त्यसबापत् उहाँले महिनाको १५ हजार तलब पाउनुहुन्छ । उहाँले घरकी आमालाई तलब बुझाउनुहुन्छ ।

लामा भन्नुहुन्छ–म यो काममा एकदम सन्तुष्ट छु । तर, उहाँलाई कहिलेकाँही चित्त दुख्छ । ‘बजारमा हिँड्नेले कुनै बेला गर्ने व्यवहारले साह्रै मन दुख्छ । कसैले कवाडी भन्छन् त कसैले खाते भनेर बोलाउँछन्,’ उहाँले दुःखेसो गर्दै भन्नुभयो । म त खासमा सफा गर्न हिँडेको मान्छे, तर मलाई उल्टै ‘फोहोरी’ र ‘खाते’ भनेर बोलाउँछन् । यसबाट जीवन गुजारा गरिरहनुभएका उहाँले बाँकी समय पनि फोहोरमै बिताउने बताउनुभयो ।