सकस कार्यविभाजनको केन्द्रीय सदस्यहरू भूमिकाविहीन


मधुसूदन रायमाझी, काठमाडौं
पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दासम्म नेपाल कम्युनिस्ट पार्टीभित्र नेताहरूको कार्यविभाजन हुन सकेको छैन।
जिल्ला अध्यक्ष र सचिवको टुंगो लागे पनि कमिटीहरूले अझै पूर्णता पाउन सकेका छैनन्। पोलिटब्युरो, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र विभाग गठनलगायतका विषयमा शीर्ष नेताहरूबीच कुरा नमिल्दा एकता लम्बिएको छ।

जनसंगठनका अध्यक्ष र सचिव चयन भए पनि नगरपालिका र गाउँपालिकाका कमिटीको एकताले पूर्णता पाएको छैन। सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले लिँदा एकताले गति नलिएको सचिवालयका एक नेताले बताए। उनले भने– ‘एकता भएपछि नेता र कार्यकर्तामा आएको उत्साहलाई पार्टीले सही ढंगले आत्मसाथ गरेन, पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा जति समय पार्टीका लागि खर्चिनुपर्ने थियो, त्यो हुन सकेन।’

नेता र कार्यकर्तालाई समयमा नै जिम्मेवारी नदिँदा निराशा छाउँदै गएको बताउँदै ती सचिवालय सदस्यले शीर्ष नेताहरूमा जिम्मेवारीबोध नभएको आरोप लगाए। ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको घोषणा गरेलगत्तै केही दिनभित्र नै पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्यविभाजन हुने घोषणा गरिएको थियो। तर, शीर्ष नेताहरूको बीचमा पोलिटब्युरो गठनमा देखिएको मतभेदले अझै कुनै निर्णय भएको छैन।

जिम्मेवारी नपाउँदा एक वर्षभन्दा बढी समयदेखि आधाभन्दा बढी केन्द्रीय सदस्य भूमिकाविहीन भएका छन्। उनीहरूले आफूहरू जिम्मेवारीको प्रतिपक्षमा रहेको बताए।
केन्द्रीय सदस्य ठाकुर गैरेले ४ सय ४१ जना केन्द्रीय सदस्यलाई भूमिकाविहीन बनाइएको गुनासो गर्दै भन्नुभया– ‘समयमै एकता गरी जिम्मेवारी दिन पटक–पटक आग्रह गर्दा पनि शीर्ष नेताहरूले एक कानले सुनेर अर्को कानले उडाउँदै आएका छन्,जिम्मेवारी नदिँदा पार्टीलाई नै ठूलो घाटा पुग्छ।’

वरिष्ठ नेता झलनाथ खनालले एकता छिटो टुंगिनुपर्नेमा लम्बिदै गएको बताउनुभयो।
यसैबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिले पार्टीभित्र नयाँ बहस शुरु भएको छ। तर पार्टी एकतापूर्व भएको पाँचबुँदे लिखित सहमतिबारे बहस गर्न आवश्यक नभएको नेकपाका नेता देवेन्द्र पौडेलले बताउनुभयो।

अर्का नेता महेश वस्नेतले कार्यविभाजनको काम अन्तिम चरणमा पुगेकाले कोही आत्तिनु नपर्ने दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘पार्टी एकताको भावना र मर्मअनुसार शीर्ष तहमा समझदारी कायम गरेर निर्णय हुँदै आएको छ, केही ढिला भएको हो, अब छिट्टै टुंगो लाग्छ।’

ओली–प्रचण्ड वान टु वान वार्ता
सहमति कार्यान्वयनको पक्षमा प्रचण्डले अभिव्यक्त दिएपछि अध्यक्षद्वयबीच वान टु वान वार्ता भए पनि अझै कुरा मिल्न नसकेको बताइएको छ। सोमबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सरकारमा एकलौटी गरेको, पार्टी सञ्चालन प्रभावकारी नभएको, आफ्नो भूमिका कमजोर बनाएको लगायतका विषयलाई लिएर प्रचण्ड अर्का अध्यक्ष ओलीसँग असन्तुष्ट रहँदै आउनुभएको छ। अब बस्ने सचिवालय बैठकले संगठन, अन्तर्राष्ट्रिय र स्कुललगायतका विभागका इन्चार्ज र जिल्लाका इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाउनुपर्ने कार्यसूची छ।
संगठन विभागमा वामदेव गौतम र बादलको नाम आएको छ भने अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी माधवकुमार नेपाललाई दिन दुवै पक्ष लगभग सहमत देखिएका छन्। स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको चर्चा छ।