धरानमा फैलियो डेंगुको संक्रमण


धरान ।
धरानमा डेंगुको संक्रमण फैलिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७५ जनामा डेंगु फेला परेको छ।

डेंगु देखिएकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको छ। प्रतिष्ठानमा परीक्षण गरेका १ सय १३ जनामध्ये ६३ जना र विजयपुर अस्पतालमा १३ जनामा डेंगु फेला परेको हो।महाशाखाका अनुसार धरान नगरपालिकाको वडा नम्बर १५ र ८ मा बढी समस्या फेला परेको छ। यसका साथै वडा ७, ९ र १३ मा पनि बिरामी फेला पर्न थालेको बताइएको छ।

हालसम्म संक्रमण देखिएका कसैको पनि मृत्यु नभएको र स्थीति नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ। प्रभावित क्षेत्रमा महाशाखा र जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि तथा अन्य किट बक्स पठाइएको छ। डेंगु नियन्त्रणका लागि बिपी प्रतिष्ठानमा हेल्थ डेस्क स्थापना गरिएको छ भने लामखुट्टै नियन्त्रणका लागि किटनाशक औषधि छर्कने काम पनि भइरहेको छ।

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।

डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप ९ब्लड प्रेसर० कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।

डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, ९विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।