ब्रेकिङ न्युजले दिएको बधाई र बोझ


कपिल काफ्ले, काठमाडौं ।
नेपाल समाचारपत्रले १८ वर्षअघि आजकै दिन जुन समाचार ब्रेक ग¥यो त्यसको तुलना सामान्यतः पाउन मुस्किल हुन्छ । ब्रेकिङ न्युजले दिने बधाई मात्र होइन, यदाकता त्यसको प्रभावको व्यवस्थापन गर्न नसक्दा त्यो बोझको विषय पनि बन्न जान्छ । कामना ग्रुपले २०५८ सालको जेठ १९ गते यस्तै अनुभव गरेको थियो ।

पत्रकारिताका विद्यार्थीलाई थाहा छ, क्याम्ब्रिज शब्दकोषअनुसार कुनै घटना हुनासाथ वा सन्दर्भ विकास भएसँगै दिइने समाचार ब्रेकिङ हो । ब्रेकिङ हुनका लागि त्यस समाचारलाई अरुले पहिले नै सार्वजनिक गरिसकेको हुनुहुन्न । यही परिभाषाभित्र ठीक्क मिल्नेगरी तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको सपरिवार हत्याको समाचारलाई प्रकाशित गर्नसकेका कारण यसले अपूर्व बधाई र बोझ दुवैको अनुभव लिने अवस्था आयो ।

बधाई त सबैले अनुमान लगाउनसक्ने विषय हो, अरुभन्दा अगाडि बढेर समाचार दिएपछि प्रकाशन–प्रसारण गृहलाई सबैले स्यावासी दिन्छन्, तर बोझ चाहिं के हुदोरहेछ भनेर पत्रकारिता र समाजशास्त्रका विद्यार्थीलाई रुचि हुनसक्छ ।

युवालाई अनौठो
आजको २० वर्षे युवालाई कोत पर्व र नाराणणहिटी दरबार हत्याकाण्ड उस्तै लाग्नसक्छ– पहिला कुनै बेला ऐतिहासिक कालमा भएको घटना । घटना भएका ठाउँ उनीहरु आज पनि देख्नसक्छन् तर हत्याका क्रममा निस्केका रगतका छिर्काको ध्वनि उनीहरुले अनुभूत गरेका हुदैनन् । उनीहरुले घटनासँगै तत्काल बगेको मनको ज्वाला र राजनीतिक तथा सामाजिक क्षेत्रमा हरेक नयाँ जानकारीका साथ आम नागरिकमा परेको असर देख्न सकेका हुँदैनन् । आजका युवाले पनि त्यस घटनालाई शब्दचित्रबाट देखेभने मुलुक बुझ्न सजिलो हुनेछ । यहाँ शब्दचित्र बनाउने प्रयास गरिएको छ ।

२०५८ सालको जेठ १९ गते नेपालीले बिर्सन सक्ने दिन होइन । तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारिका १० सदस्य मारिएको यस दिनलाई सम्झने जोकोहीको श्वास फुल्छ, मुखारकृति गम्भीर हुन्छ र दृष्टि अनन्तमा हराउन थाल्छ ।

दृष्टि अनन्तमा हराउनुको एउटै कारण हो, औपचारिक सबै प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रलाई यस कुकृत्यका अपराधी मानेका छन्, तर मान्छेको मन मान्न तयार छैन । आखिर एक छोराले बाबु, आमा, भाइ, बहिनी, काकाहरुको हत्या किन ग¥यो ? यस भयानक त्रासदीपूर्ण घटनालाई सम्झनासाथ प्रश्नै प्रश्न मात्र ओइरिन्छन्, तर कतै चित्तबुझ्दो जबाफ पाइन्न ।

यस घटनाले कोत पर्वलाई सम्झाउँछ । १९०३ सालको कोतपर्व र २०५८ सालको नारायणहिटी काण्ड भएको ठाउँ क्रमशः वसन्तपुर दरबार (पछि जिल्ला प्रहरी कार्यालय बसेको भवनभन्दा उत्तर) मा भएका हत्याका घटनाले नेपालमा सरकार मात्र ढलेन राज्यसत्तामै परिवर्तन आयो । तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाहलगायत ४० काटिएको कोत होस् वा आज पनि भित्तामा बुलेटले बनाएका घाउ देख्नसकिने नारायणहिटी– यी दुवै घटनाले हाम्रो मानवीय संवेदनालाई प्रभावित पार्छ । पहिलेको घटनामा दोषी जंगबहादुर राणा र उनका भाइ–भारदारलगायतको समूह थियो भने पछिल्लो घटनामा दीपेन्द्रको नाम आउने गरेको छ ।

यसरी गरियो ब्रेक
करिब रातको ९ बजेको घटना थियो त्यो । तर, राजाका स्वकीय सचिव मोहनबहादुर पाण्डेले यस घटनाको संकेत गर्दा रातको १० बजिसकेको थियो । यो समय भनेको पहिलो पृष्ठ छपाइका लागि प्रेसमा जाने समय थियो । प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ र सम्पादकका रुपमा रहेको यस पक्तिकारबीच सल्लाह भयो, हामी दुवै मुखामुख ग¥यौं– अब के गर्ने ? एकछिनको सल्लाहपछि उहाँ ‘स्टप प्रेस’ को व्यवस्था गर्न प्राविधिक विभागतिर लाग्नुभयो, हामी समाचार बनाउन थाल्यौं ।

मासिक रुपमा हुने पारिवारिक जमघटमा अप्रिय घटना भएको, गोली चलेको, कोही हताहत भएको त जानकारी आयो, राति अबेरसम्म नारायणहिटीमा एम्बुलेन्सलगायतका गाडीहरु ओहोर–दोहोर भएको पनि बुझियो । तर भएको के हो थाहा थिएन । हामीले पनि जति थाहा छ, त्यति त्यही रुपमा पाठकसम्म पु¥याउने निर्णय ग¥यौं ।

जब–जब दरबारबाट अप्रिय संकेतहरु बाहिर चुहुनथाले, समाचार कक्षहरुमा पनि चहलपहल बढ्न थाल्यो । जसले दरबारभित्र समाचार स्रोत बनाएको थियो, जो प्रभावकारी थियो उसले सीमित मात्र भएपनि समाचार पायो । यसले पुष्टि गर्छ, नेपाल समाचारपत्र निकै प्रभावमा थियो, केही अप्रिय घटनाको संकेत पायो, समाचार कक्षको समयसीमा सकिंदासकिंदै जतिसम्म सम्भव थियो, समेट्यो । त्यसले भोलिपल्ट नेपाल समाचारपत्रलाई चर्चित बनायो । यति धेरै चर्चित कि २० जेठको मध्य दिउँसोसम्म अखबार मुद्रण गरिरहनुप¥यो । आजका पाठकलाई विश्वास नै हुन्न, त्यस बेला काठमाडौं उपत्यकामा मात्र २ लाख ५० हजार नेपाल समाचारपत्र बेचियो भनेर ।
२० जेठका दिन सबै सरकारी, निजी, सामाजिक संस्था र कार्यालयहरु बन्द थिए । सबैलाई चाहिएको थियो नेपाल समाचारपत्र । आजको जस्तो एफएम र अनलाइन न्युजपोर्टलको विकास नभएको त्यस बेला सडकभरि मानिस र उनीहरुका हातहातमा नेपाल समाचारपत्र मात्र थियो ।

बेकिङ न्युजको बोझ
नेपाल समाचारपत्र ओसार्ने वा बेच्ने साइकल ब्वाईहरुले ग्राहकको भिड छिचोल्न नसकेर लुटिनुप¥यो । काठमाडौंको भीमसेनस्थानबाट भूगोलपार्क निस्कने बेलामा बसन्तपुरमा पुगेका साइकलब्वाईहरुलाई लुटेर नागरिकहरुले पत्रिका लिइदिए । नेपाल समाचारपत्रकै कारण त्यस दिन फोटोकपी व्यापारीले पनि खूबै पैसा कमाए । पहिलो पानाको मुख्य समाचार फोटोकपी गरेर सय रुपियाँ सम्ममा बेच्न भ्याए उनीहरुले । तर, पाठकलाई लाग्यो, त्यस्तो काम कतै प्रकाशन गृहले नै गरेको त होइन ?

‘स्टप प्रेस’ तिर लाग्दा पत्रिका निस्कन केही ढिला भएको थियो । हकर आन्दोलित थिए । ब्रेकिङ न्युजबारे किताबमा पढेर निकै बुझें भन्ने सम्पादक मण्डलका सदस्यले नै ब्रेकिङ न्युजको प्रभावलाई पहिलो पटक बुझेका थियौं । त्यसो त यस्तै ब्रेकिङ न्युज कामना ग्रुपबाट तत्कालीन एमाले महासचिव मदन भण्डारीको चीप दुर्घटना हुँदा होस् वा प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकोप्टर दुर्घटाका समयमा होस्, गरिएकै थियो । त्यस बेला पनि कामना ग्रुपले अखबार पुनर्मुद्रण गर्नुपरेकै हो । तर, १९ जेठको घटना राजतन्त्रात्मक मुलुकमा सिंगो राजपरिवारकै हत्या हुनेगरी भएका कारण रहस्य र सुरक्षाका दृष्टिले भिन्न थियो ।

ब्रेकिङले उचालेको व्यक्तित्व शान्तिका लागि
कामना ग्रुप देशभक्त र इमान्दार त छ तर पहुँचका दृष्टिले केही कमजोर छ कि भनेर सोच्नेहरुका लागि यो बलियो जबाफ भयो । अरु कुनै प्रतिस्पद्र्धी अखबारले नपाएको समाचार, त्यसमाथि ‘वीरेन्द्र मारिए’ शब्दको प्रयोग नै नगरी ‘राजगद्दी उत्तराधिकार’को सम्म कुरा गरेर समाचार बनाएका कारण सम्पादन कक्षको सीप पनि देखिएको थियो ।

तर जब भोलिपल्ट राजा वीरेन्द्र मारिएको पुष्टि भयो, त्यसपछि देशभित्र र बाहिरका अराजक, विस्तारवादी, अधिनायकवादी र अराष्ट्रिय तत्वहरु सगबगाउन थाले । राज्यमा शासकीय नेतृत्वको खाडल अनुभव भयो । यस्तै अवसर कुरेर बसेका हस्तक्षेपकारी शक्तिहरु सशस्त्र अवतरण गर्ने त होइन भन्ने आशंका सिर्जना भयो । दिनदिनै जुलुस र नारावाजी चल्न थाल्यो । तर नेपाल समाचारपत्रले लगातार पाँच दिनसम्म विशेष सम्पादकीय लेखेर श्रद्धेय पाठकलाई संयम हुन अनुरोध गरिरह्यो । ब्रेकिङ न्युजले हामीलाई जुन उचाइ र विश्वास दिएको थियो, त्यसका कारण हाम्रो बोली बिक्ने अवस्था पनि थियो । राष्ट्रिय एकता तथा सुरक्षाका पक्षमा हाम्रो बोली सुनियो । दरबार हत्याकाण्डले विदेशी सेना भित्र्याउनेसम्मको त्रास जो सिर्जना गरेको थियो, त्यो केबल नागरिकको मनमा मात्र सीमित भयो, जो नेपाल र नेपालीका लागि ऐतिहासिक रुपले हितकर सावित भयो ।

नेपाल समाचारपत्रले कामना ग्रुपको आर्थिक सबलतामा ठूलै भ्याङ पारेपनि राष्ट्रिय रुपमा केही गर्नसकेको अनुभूतिका कारण यससँग जोडिएका सदस्यहरु सदैव गौरवको अनुभूति गर्दछन् । यो ब्रेकिङ समाचार त्यसकै उदाहरण हो । विगतको यो गौरव कामना ग्रुपका लागि सम्झन लायक छ । तर, विगतको गौरवमा मात्र नरमाई वर्तमानको नयाँ उचाइको आरोहण अब यसको लक्ष्य हुनु आवश्यक छ ।