पर्वतकी एक महिला ७ दिनदेखि बेपत्ता


पर्वत(नेस)
पर्वतको फलेवास नगरपालिका वडा नं. २ शंकरपोखरीकी एक महिला सात दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षिया मनीषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएही हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताउनुभयो । छ महिनादेखि शंकरपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालिम गरिरहेकी मनीषा तालिममा जान घरबाट निस्किएकी थिइन् ।

तर घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी सुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताउनुभयो । चितवनमा माइती भएकी उनले मनीषाले दुई वर्षअघि विवाह गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कबिहीन रहेकी मनीषाको खोजी कार्यलाई तीव्र पारिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूमा पनि फोटोसहित खोजी कार्यका लागि सुचना पठाइएको जानकारी दिनुभयो । एक्कासी महिला वेपत्ता भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।