एकसाथ तीन


आज शुक्रबार एकसाथ तीन फिल्म अल नेपाल रिलिज हुने भएका छन्। सम्राट सापकोटा निर्देशित कप्स, दीपक ओली निर्देशित कुम्भ करण तथा मदन घिमिरे निर्देशित काउसो एकसाथ रिलिजमा आउन लागेका हुन्।

सम्राट सापकोटाको लेखन तथा डेब्यु निर्देशनमा तयार भएको कप्समा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ। प्रहरीको विषयमा बनेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा छ। फिल्ममा अनुपविक्रम शाहीका साथमा नवनायिका सन्दीपा लिम्बु, अनुपा भण्डारी, सम्राट सापकोटा, अमित गिरी, रामराज क्षत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, रोशन सुवेदीलगायतको पनि अभिनय रहेको छ।

आर्या मुभिज र साराश्री मुभिजको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म राम शाक्यले निर्माण गरेका हुन्। सुशन प्रजापतिले खिचेको फिल्ममा विजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य र विपीन मल्लको सम्पादन रहेको छ।

दीपक ओलीको निर्देशनमा बनेको अर्को फिल्म कुम्भ करणमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ भने गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारीलगायतको अभिनय रहेको छ। आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा क्षितीज बस्नेत, चुपनिधि रिजाल र चित्रबहादुर घर्ती मगरले निर्माण गरेको फिल्ममा सुरेन बसेलको कोरियोग्राफी, हरि घले लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। मदन घिमिरे निर्देशित फिल्म काउसो पनि आज रिलिजमा आउने फिल्म हो।

फिल्म एक्सन कमेडी जनरामा छ। अर्नभ फिल्म्स् प्रोडक्सनको ब्यानरमा अर्नभ बस्नेतद्वारा प्रस्तुत तथा राजेन्द्र बस्नेत, सीताराम तिमल्सिना ज्याक र भगवान् खत्रीद्वारा निर्मित फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नवीन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिनालगायतले अभिनय गरेका छन्। फिल्ममा संगीत विकास चौधरी, नृत्य विक्रम स्वार, द्वन्द्व शंकर महर्जन, छायांकन रामेश्वर हुमागाईं र सम्पादन नवीन निरौलाको रहेको छ।