घटे हुवावेका ग्राहक, ‘सोध्छन् मात्रै किन्दैनन्’


नेपाल समाचारपत्र, काठमाडौं
गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ‘हामी जवरजस्ती गर्न सक्दैनांै, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित न्यूरोडको पाकोस्थित के एण्ड के मोवाइल हवका सञ्चालक कैलाश कँडेलले भन्नुभयो–‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि अहिले हुवावेको डिमान्ड छैन ।’

सो कम्पनीका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ पछिल्ला मोडल हुन् । यी तीन मोडेलमध्ये सबैभन्दा बढी रुचाइएको पी ३० प्रो हो । डेढ साता अघिसम्म राम्रो माग रहेको हुवावेको ‘पी ३० प्रो’ मोडेल हिजो–आज ग्राहकले सोध्ने गरेपनि बिक्री हुन छोडेको उहाँले बताउनुभयो । सामान्य मोवाइलसेटको तुलनामा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले सो मोडेल निकै रुचाइएको थियो ।

एक महिनाअघि नेपाली बजारमा सार्वजनिक भएको सो फोनको बजार मूल्य १ लाख २० हजार रुपियाँ हो । ‘यति महंँगो फोन किनेपछि चल्छ चल्दैन, नेट र गुलल नै चल्दैन भने किने किन्ने, हरेक दिन ग्राहकले यस्तै जिज्ञासा व्यक्त गर्न थालेका छन्’–कँडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो । अमेरिकी सरकारको निर्देशनअनुसार इन्टरनेट सर्च इन्जिन गुगलले मोबाइल ब्रान्ड हुवावेको पहुँचलाई सीमित गरेपछि विश्वबजारमा समेत सो फोनको कारोबारमा असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा हुवावे मोवाइलको बजार हिस्सा १५ देखि १८ प्रतिशतका हाराहारीमा रहेको सो कम्पनीको नेपाल एजेन्ट ‘कल मोविलिटी’ले जनाएको छ । कल मोविलिटीका डाइरेक्टर पुल्कित भिमसारिया पनि नेपालमा हुवावेको कारोबार खस्किएको स्वीकार्नुहुन्छ, ‘नेपालमा करिव १० प्रतिशत हाराहारीको व्यापार घट्यो तर अहिले हुवावेले गरिरहेको नेगोसिएसन पोजेटिभ भएकाले छिटै सुधार हुन्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपश्चात् अमेरिकामा मुख्यालय रहेको गुगलले हालै चीनको मल्टिनेशनल कम्पनी हुवावेको एन्ड्रोइड लाइसेन्स रद्द गरेको थियो । इन्टेल, क्वालकम, ब्रोडकमm इन्फेनियनजस्ता चिप्स निर्माता कम्पनीले पनि हुवावेसँगको सम्झौता रद्द गरेका कारण चीनले आफैंले मोवाइल चीप्स तयार गर्नुपर्ने बाध्यता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो अमेरिकी कदमपश्चात हुवावेले स्मार्टफोन र ल्यापटपका लागि अपरेटिङ सिस्टम र प्रोसेसर जस्ता हार्डवेयर र सफ्टवेयर आफैले बनाउनुपर्ने हुन्छ ।

तर बजारमा सार्वजनिक भइसकेका, प्रयोगमा रहेका सेट चलाउन र खरिद बिक्रीमा कुनै समस्या नहुने भिमसारियाको दावी छ । गुगलले आफ्नो विश्व पहिचान खस्काउन नचाहने भएकाले गुगलकै पहलमा छिटै यो समस्या समाधान हुने उहाँको भर्ना छ ।

व्यवसायीका अनुसार न्यूरोडमा सामसुङको मासिक कारोबार ६ देखि ८ करोड हाराहारीमा हुने गरेको छ भने पछिल्लो प्राविधिक परिवर्तन अघिसम्म हुवावेको ५, ओप्पो र एमआईको विक्री ३ करोडको हाराहारीमा हुँदै आएको थियो ।

अमेरिकी नीति पश्चात मोवाइल उपभोक्तामाझ मनोवैज्ञानिक प्रभाव परेकाले हुवावेको बिक्री खस्किएको ताम्राकार कम्प्लेक्सस्थित हुवावे फोनको विक्रेता टे«न्ज मोवाइलका अरविन खड्काले स्वीकार्नुभयो । ‘हुवावे सेट पहिलो महिनामा ५०–६० सेट विक्री हुन्थ्यो, अहिले बिक्री घटेको छ, नेट चल्छ कि चल्दैन, कहिलेसम्म यस्तो समस्या हुन्छ भन्दै सोध्ने ग्राहकहरु धेरै आउँछन्, प्रायः सोध्छन् मात्रै, किन्दैनन्, उहाँले भन्नुभयो ।