भाजपाका नेता मोदीले आज दोस्रो पटक प्रमको सपथ लिँदै


नयाँ दिल्ली । भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको सपथ आज बिहीबार लिँदैछन् ।

मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

उनको यो सपथ कार्यक्रममा भारतीय उपराष्ट्रपति वैंकैया नायडुदेखि लिएर भारत र अन्य देशका ८ हजार अतिथिले सहभागिता जनाउँदै छन् । उनले ४० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन् । मोदीको सपथ कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, मरिससका प्रधानमन्त्री प्रविन्द कुमार, किर्गिस्तानका राष्ट्रपति, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाल सिरिसेना, म्यानमार तथा भुटानलगायतका देशका सरकार प्रमुखले पनि सहभागिता जनाउँदै छन् । यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन ।