पुलिसको लगातार दोस्रो जित


काठमाडौं, (नेस)
जारी तेस्रो सस्करणको प्रधानमन्त्री पीएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गरेको हो । टोलीको जितमा दीपेन्द्र सिंह ऐरीले बलिङमा र अमित श्रेष्ठले ब्याटिङमा शानदार प्रदर्शन गरेपछि पुलिसको फराकिलो जित संभव भयो । पुलिसले तेर्साएकोे १ सय ८६ रनको मध्यम लक्ष्यको जवाफमा प्रदेशले मात्र १ सय १० रन बटुल्न सकेको थियो । टोलीका ओपनर सन्नी पुनले सर्वा्धिक २७ रनको योगदान दिए ।

पुलिसलाई सहज जित दिलाउन दिपेन्द्रले १० ओभरमा ४ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिएका थिए । ललित नारायण राजवंशीले ३, सागर ढकाल र आरिफ शेखको नाममा समान १ विकेट रह्यो ।

यसअघि अमितको शतकीय इनिङको सहयोगमा पुलिसले सम्मानजनक योगफलसम्म पुग्न सकेको थियो । टोलीले अलआउट हुन अगाडि ४३.१ ओभरमा १ सय ८५ रन जोडेको थियो । जसमा अमित एक्लैले १ सय ६ रन बनाए । ४३ ओभरसम्म क्रिजमा रहेका अमितले १ सय १८ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई सम्हालेका थिए ।

उनी सिद्धान्त लोहनीको बलमा आउट भएका थिए । टोलीका लागि अमितपछि कुशल भुर्तेलले २४ रन बनाए भने अन्यले निरासजनक ब्याटिङ प्रदर्शन गरेका थिए । पुलिसलाई सस्तैमा रोक्न प्रदेश १ का सिद्धान्त लोहनी, दिपेश कँडेल, पुष्प थापा, फिर्दोस अन्सारी र कमल खत्रीले समान २ विकेट लिएका थिए ।