मेसीले गरे रोनाल्डोको बराबरी


लन्डन, (एजेन्सी)
बार्सिलोनाका स्टार फुटबलर लियोनल मेसीले यस सिजनमा कुल ५१ गोल गरे । उनले सबै गोल आफ्नो क्लब बार्सिलोनाका लागि नै गरेका छन् । मेसीले यो सिजन अर्जेन्टिनाबाट मात्र एक म्याच खेलेका थिए । तर त्यसमा उनले गोल भने गर्न सकेनन् । तर बार्सिलोनाबाट भने उनले ४९ म्याच खेले । मेसीले छैटौँ पटक एउटै सिजनमा ५० वा त्यो भन्दा बढी गोल गरेका हुन् ।

यस विषयमा उनले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोको बराबरी गरेका छन् । सिजनमा सबैभन्दा बढी गोल गरेका कारण यसपटक मेसीलाई यूरोपियन गोल्डन शू प्रदान गरियो । यो समेत उनले छैटौँ पटक गोल्डन शू मा आफ्नो नाम दर्ता गरेका हुन् । रोनाल्डोले भने ४ पटक मात्र गोल्डेन शू मा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

मेसीले ला लिगामा मात्र यस सिजन ३६ गोल गरेका छन् । यस सन्दर्भमा उनी लुईस सुआरेज र करिम बेन्जेमाभन्दा २१ गोलले अगाडी रहे । यस सिजनमा सर्वाधिक गोलकर्ता बनेका कारण उनलाई पिचिचि अवार्ड पनि प्रदान गरिएको थियो । मेसीले छैटौँ पटक सो अवार्ड आफ्नो नाममा गरेका हुन् । योसँगै उनले टेल्मो जाराको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । मेसीले यस सिजनमा तीन ह्याट्रिक गोल गरेका छन् । यस्तै ६ गोल डायरेक्ट फ्री–किक प्रहारमार्फत् गरेका छन् ।

यूरोपियन लिगमा एकभन्दा बढी सिजनमा सर्वाधिक गोलकर्ता बन्ने होडमा भने अहिलेसम्म जर्मनीका गर्ड मूलर नै सबैभन्दा अगाडी छन् । उनी जर्मन बुन्देसलिगामा ७ पटकका सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै, जिम्मी ग्रेभेस इंग्लिश प्रिमियर लिगमा ६ सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । इटालीको सिरी–ए मा गनर नोर्दाल ५ पटक, फ्रेन्च लिग–१ मा कार्लोस बियनाची, जीन पिएरे पपिन र डेलिओ ओनिस समान ५÷५ पटकका सर्वाधिक गोलकर्ता हुन् ।

जब रोनाल्डो स्पेनको रियल मेड्रिडबाट खेलिरहेका थिए, तब उनी र मेसी सधै ला लिगाको सर्वाधिक दुई गोलकर्ता बन्थे । मेसीले यसपटक च्याम्पियन्स लिगमा सबैभन्दा बढी १२ गोल गरेका छन् । च्याम्पियन्स लिगको इतिकासकै सर्वाधिक गोलकर्ता रोनाल्डो भने २०११÷१२ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्न असफल रहे । उनले यस सिजनमा मात्र ६ गोल गरेका छन् ।