एभरेष्ट म्याराथनमा सुमन र सुनमायालाई उपाधि


सोलुखुम्बु, (नेस)
तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढाले जितेका छन् ।

६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा निर्धारित ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरेर उपाधि चुमे । महिलातर्फ भने सुनमाया बुढाले ५ घण्टा ३ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितिन् ।

पुरुषतर्फ कपिलदेव बुढाले निर्धारित दूरी ३ घण्टा ५६ मिनेट १० सेकेण्ड र रामकुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटसहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । महिलातर्फ रोजिना भण्डारीले ५ घण्टा २४ मिनेट १२ सेकेण्ड र हुमी बुढामगरले ५ घण्टा २९ मिनेट १५ सेकेण्ड लिँदै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । पुरुषतर्फका शीर्ष तीन विजेताले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद प्राप्त गरे भने महिलातर्फ शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाएका छन् ।

त्यसैगरि २१ किलोमिटरको हाफ म्याराथनको उपाधि बेलायतका अलेक्जेन्डर विलियम जल्यान्डले जितेका छन् । उनले निर्धारित दूरी ३ घण्टा ८ मिनेटमा पूरा गरेका थिए । ब्राजिलका कार्लोस फ्रेडेरिको ३ घण्टा ४२ मिनेट ५० सेकेन्डसहित दोस्रो र भारतका जेरोमी लियोडले ३ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा तेस्रो भए । यो स्पर्धाका शीर्ष तीनमा रहनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाए ।

त्यसैगरी स्ट्रीम अल्ट्रा एभरेष्ट म्याराथनको उपाधि किरण कुलुङले हात पारेका छन् । ६० किलोमिटरको निर्धारित दूरी किरणले ७ घण्टा १४ मिनेट १० सेकेण्डमा पूरा गरेर उपाधि जितेका हुन् । यस्तै दोश्रो हुने अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा निर्धारित दूरी पूरा गरे भने, ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै पूर्ण तामाङ्ग तेश्रो भए । शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

हिमालय एक्सिपिडिशनले सन् २००३ देखि वर्षेनी मे २९ तारिखको दिन एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ । यो संसारकै सबैभन्दा उचाइमा आयोजना हुने अल्ट्रा रेसको रुपमा समेत प्रसिद्ध छ ।