आजदेखि क्रिकेटको मेला शुरु: इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै


लन्डन, (एजेन्सी)
आयोजक इंग्ल्यान्डले आजबाट शुरु हुने क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकासँग उदघाटन खेलमा प्रतिस्पर्धा गर्दैछ । आयन मोर्गानको टोली वानडे अन्तर्राष्ट्रियको वरियतामा पहिलो स्थानमा रहेको छ भने उपाधि दावेदारमा पनि रहेको छ । ओभलमा दिउँसो हुने खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले जितकै लागि खेल्नेछ ।

यसपटक १९९२ को विश्वकपमा झै सहभागि सबै टोलीले एक अर्कासँग खेल्नेछ । यसपटक १० टोलीले सहभागिता जनाएका छन् । गत २०१५ को विश्वकपमा इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो । मोर्गानले बीबीसीलाई बताए—हामीले यस पालि राम्रो खेलिरहेका छौं । गत विश्वकपमा हामी राम्रै थियौं तर हामीले निरासजनक नतिजा आत्मसात गर्नुप¥यो । पछिल्ला दुई वर्षमा हामी बलिया भएका छौ । शायद यसैले हामीलाई उपाधि दावेदार राखिएको छ ।

इंग्ल्यान्ड तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अभागि टोली हो । दक्षिण अफ्रिका भने फाइनलमा पुग्न सकेको छैन । इंग्ल्यान्डले हालै मात्र पाकिस्तानविरुद्धको वानडे सिरिज ४–० ले जितेको छ । दुई पटक त ३ सय भन्दा बढी रनको लक्ष्य आयोजक टोलीले भेटाएको छ । यसले पनि टोलीको ब्याटिङ सन्तुलित भएको पुष्टि गर्छ ।

दक्षिण अफ्रिकाको मामिला पनि इंग्ल्यान्डकै जस्तो हो । केवल फरक यति कि इंग्ल्यान्डले ३ विश्वकपमा फाइनल खेल्यो भने दक्षिण अफ्रिकाले अहिलेसम्म विश्वकप फाइनल टेक्न सकिरहेको छैन । टोलीलाई अभागिको ट्याग लगाएको छ । यो अभागि ट्याग हटाउन यसपटक लागि पर्ने दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले बताएका छन् ।