स्वास्थ्यमा ६८ अर्ब ७८ करोड


नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बुधबार बजेट प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरिएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेटमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ।

नेपाल सरकारले आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ५६ अर्ब ४१ करोड ९७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा सबै नागरिकलाई स्वास्थ्यबिमाको दायराभित्र ल्याउने घोषणा गरेको छ । यसका लागि ६ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्म ४२ जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएका छन् । स्वास्थ्य बीमा प्रभावकारी हुन सकेको छैन र सरकारले गत वर्ष पनि ६ अर्ब रुपियाँ बीमाका लागि छुट्याएकोमा ३ अर्बको हाराहारीमा मात्र खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । उहाँ भन्नुहन्छ– ‘थप जिल्लामा तालिम सम्पन्न भइसकेको छ । असारदेखि कार्यक्रम सुचारु गर्ने मन्त्रालयको कार्यक्रम रहेको छ ।’

बजेटमा देशका सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, टोलटोलमा नागरिक आरोग्य कार्यक्रम चलाउने, वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम गर्नेलगायतका छन् ।

जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छ । साथै तीन वर्षभित्र हरेक प्रदेशमा समेत प्रयोगशाला स्थापना गरिसक्ने जनाएको छ ।

मातृ तथा बाल स्वास्थ्यका क्षेत्रमा पनि बजेट बढाइएको छ । बालबालिका तथा आमाको पोषणमा सुधार गर्ने कार्यक्रम पनि सञ्चालन हुने बजेटमा उल्लेख गरिएको छ ।

स्वयम्सेविकालाई ३ हजार यातायात भत्ता
बजेट भाषणका क्रममा अर्थमन्त्री खतिवडाले नेपालको ग्रामीण स्वास्थ्य सेवामा सहश्राब्दि विकास लक्ष्य योजना सफल बनाउने महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई वार्षिक ३ हजार रुपियाँको दरले प्रोत्साहन भत्ता छुट्याएको जानकारी गराउनुभयो । उक्त बजेट महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि समयमा तोकिएको ठाउँमा पुग्न यातायात खर्चका लागि छुट्याएको होे ।

महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि यातायात भत्ताका लागि १८ करोड बजेट विनियोजन भएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ५२ हजारको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् । ग्रामीण भेगमा यिनै महिला स्वास्थ्य स्वयंमसेविकाले मातृशिशु तथा बाल मृत्युदरमा कमी ल्याउन घरदैलो पुगेर स्वास्थ्य सेवाको महत्वका बारेमा जनचेतना जगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । ग्रामीण भेगमा बसोबास गर्ने महिला तथा बालबालिकाका लागि यिनै महिला स्वास्थ्य स्वयमसेविकाहरुले विशेषज्ञ डाक्टरको भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

मदिरा र सुर्तीजन्य पदार्थमा मूल्यवृद्धि
बजेट भाषणमा अर्थमन्त्री खतिवडाले मदिरा, सुर्र्तीन्य पदार्थमा मूल्य वृद्धि भएको जनाए पनि के कति बढेको भन्नेबारे उल्लेख गर्नुभएन । विश्व स्वास्थ्य संगठनले मदिरा र सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुनाले ७० प्रतिशतसम्म वृद्धि गर्न सुझाव दिएको भए पनि अर्थ मन्त्रालयले सामान्य मात्र बढाएको बुझिएको छ ।