विशेषज्ञ स्वास्थ्य शिविरमा बिरामीको भिड


धनवीर दाहाल,रुकुम ।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा जारी विशेषज्ञ स्वास्थ्य शिविरमा बिरामीको भिड लागेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा संचालन गरिएको ६ दिने निःशुल्क स्वास्थ्य शिविर बिरामीको चाप बढेको बताइएको छ ।

यहि जेठ १७ गतेसम्म चल्ने उक्त शिविरमा विशेष गरी स्त्रीरोग, हाडजोर्नी र हर्निया लगायत अन्य गाँठागुठीको समस्या भएका बिरामीहरुले सेवा लिइरहेका छन् ।

शिविरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अर्थोपेडिक सर्जन, गाइनोलोजिष्ट लगायतका विशेषज्ञ डाक्टरहरुको टोली रुकुम पुगेको छ । पछिल्लो समय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस्ता स्वास्थ्य शिविरहरुमा केही नयाँपन दिन थालेको भन्दै पहिलेजस्तो सामान्य औषधीमात्र दिने नभई आवश्यक शल्यक्रिया समेतको सेवा शिविरबाट प्रदान गरिने प्रतिष्ठानका डाक्टर मंगल रावलले बताउनुभयो ।

यसअघि केहिदिन अघि मात्र आफूहरुले जाजरकोट, हुम्ला र मुगुमा समेत यस्ता शिविरबाट हजारौँ बिरामीहरुलाई सेवा दिएको उहाँले जानकारी दिनुभयो । जिल्लामै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयबासीहरु खुसी भएका छन् । घरछेउमै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदा उपचारका लागि बाहिर जाँदा लाग्ने खर्च बचेको भन्दै सेवा लिन आउनुभएकी स्थानीय कमला खड्काले खुसी व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट मर्मतका लागि प्राप्त बजेटबाट काम भैरहेकोले थोरै भएपनि संरचनामा सुधार आउने बिश्वास अस्पतालको छ । शिविरमा पाठेघरसम्बन्धी समस्याका सबै बिरामीलाई निःशुल्क सेवा हुने र हाडजोर्नीका बिरामीलाई आवश्यकता अनुसार शुल्क लाग्ने अस्पताल भनाइ छ ।