सैनिकलाई कुटपिट गरेको आरोपमा एक पक्राउ

0
Shares

सुभेन्द्र दास लहान ।
गत वैशाख २८ गते सिरहाको सिमावर्ती बरियारपट्टि गाउँपालिका( ४ तेनुवापट्टिमा एक महिने घर बिदामा आएका एक सैनिकलाई कुटपिट आरोपमा एकजनालाई सोमबार प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ।

पक्राउ पर्नेमा तेनुवापट्टिका मगंला भनिने मंगल साह रहेको सिरहा प्रहरी प्रमुख एसपी जिवनकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेका छन्।

गाउँलेको कुटपिटबाट घाइते भएका छिमेकी गाउँ सोहपुरका २५ वर्षीय सैनिक जवान अनिशकुमार सिंहको जेष्ठ २ गते काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको थियो।

कुटपिटबाट मृत्यु भएपछि अनिशका बुवा नरेन्द्र सिंहले आफ्नो छोरालाई घरबाटै अपहरण गरी हत्या गरिएको भन्दै प्रहरीमा २५ जनाभन्दा बढी व्यक्तिमाथि किटानी जाहेरी दर्ता गराएका छन्।

यता, तेनुवापट्टिका स्थानीयले गाउँमा सिंहसहित युवाले चोरी गर्न आएका भन्दै कुटपिट गरी इलाका प्रहरी चौकीमा निवेदन दिएका थिए। पक्राउ परेका व्यक्तिको माध्यमबाट घटनाबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए। फरार रहेका आरोपितको खोजि भइरहेको उनले जनाए। पक्राउ परेका साहलाई प्रहरी सिरहा नगरपालिकाबाट समातिएको पत्रकार सम्मेलनमा बताएका छन्। तर, उनलाई भारतीय गाउँबाट पक्राउ गरी ल्याएको बुझिएको छ।

बराह दल गुल्म सखुंवासभामा कार्यरत सिंह वैशाख ७ गते एक महिने बिदामा घर आएका थिए।बारा(पर्सा हावाहुरी प्रभावित क्षेत्रमा काम गर्न उनी कार्यरत गुल्मले उनलाई चाँडै बोलाउन खाजेको थियो।

उनी वैशाख २९ गते फर्किने तयारीमा थिए तर, एकदिन अगावै वैशाख २८ गते अनिश घरमा हजुरआमा यैजनदेवी सिंहसँगै थिए। उनको घरका अरु सदस्य लहानको घरमा पूजामा गएका थिए। त्यही राति अनिशलाई तेनुवापट्टिका स्थानीयले गाउँको विलेक्षण यादवको घरमा चोरी गरेको आरोप लगाउँदै बिजुलीका पोलमा हात, खुट्टा बाँधेर निर्घात कुटपिट गरेका थिए ।

विलेक्षण यादवले घरमा ताल्चा लगाएर फरार छन्। घटनापछि तेनुवापट्टिका त्रसित अधिकांश युवा तथा पुरुष गाउँ छाडेका छन्। व्यक्तिगत रिसइबीका कारण उनीहरुमा मुद्दामा फस्ने त्रास बढेको छ।गाउँमा महिला, वृद्ध र बालबालिका मात्र देखिन्छ्न्।गाउँका आधारभुत विद्यालय पनि बन्द छन्।