काभ्रेका सहकारी एकीकरण अभियानमा


नेपाल समाचारपत्र, काभ्रे ।
सामुदायीक वचत तथा ऋण सहकारी संस्था र बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्था वीच एकीकरण हुने भएको छ । दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी सम्झौता समेत भइसकेको छ ।

२५ वर्ष अघि स्थापित सामुदायीक वचत तथा ऋण सहकारी संस्थाको अग्रसरतामा दुई संस्था वीच एकिकरणको लागि सम्झौता भएको हो । समुदायका ब्यक्तिहरुलाई सामुदायीक संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियान शुरु गरेको अध्यक्ष प्रकाश वञ्जाराले बताउनु भएको छ ।

पनौती नगरपालिका ४, टौखालमा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल सामुदायीक सहकारीले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ ।

तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गाविस कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको थियो । तीनवर्ष अघि बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको यस संस्थाले छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

बनेपा नगरपालिका वडा नं. १२, बासडोल स्थित श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिसँग एकीकरणको सम्झौता पछि बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष वकिलनाथ शर्माले भन्नुभयो– सानो मुहानबाट शुरु हुने खोल्सा खोला, नदी हुँदै आफै समुन्द्र बन्ने हो, त्यसले हामी दुई संस्था एकीकरण भई अन्य संस्थाहरुलाई पनि एक हुन आग्रह गर्दै समुन्द्र बन्नुपर्ने कुरा राख्नु भएको थियो ।


सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्दै सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरीरहेको अवसरमा यो शुरुवात भएको बताउनु भएको थियो । एकिकरण सम्झौता कार्यक्रममा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाले अध्यक्ष शर्माले अन्य सहकारी संस्थाहरुसँग पनि एकीकरणको छलफल अगाडी बढेको, केही संस्थाहरु निर्णय तहमा पुगीसकेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २१ हजार ७५ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८० करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १७ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब २४ करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४७ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ४६ जनालाई रोजगारी प्रदान गरेको छ । संस्था शुसासनमा सञ्चालनका निमित्त ५० वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ ।

त्यसैगरी १ हजार ५ सय ८८ जना शेयर सदस्यहरुको ९ करोड ५० लाख कुल पुँजी परिचालन गर्न सफल भएको बासडोल सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको १० प्रतिशत भन्दा बढी संस्थागत पुँजी छ भने न्यून भाखा नाघेको ऋण रहेको छ । नीति, विधिबाट शुसासित यि दुई संस्था एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत नदेखिने संस्थाका कार्यकारी अधिकृत वस्नेत बताउनुहुन्छ ।

दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् । सहकारी अभियन्ताहरुले संस्थाहरु एकीकरण गर्ने अभियानलाई सामुदायिकले नेतृत्व गर्नुपर्ने र अन्य सहकारी संस्थाहरुसँग समेत एकीकरणको प्रस्ताव पठाई छलफल अगाडी बढाउनु पर्ने कुरा सुझाउँदै दुबै संस्था सिघ्र एकीकरण होस् भनि शुभकामना दिएका छन् ।