पारसको टोलीको दोस्रो जित


नेपाल समाचारपत्र, काठमाडौं
पहिलो खेल एपीएफसँग हारेको कप्तान पारस खड्का कप्तान रहेको प्रदेश ३ ले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो । यसअघि एपीएफसँग हारेको प्रदेश ३ ले दोस्रो खेलमा प्रदेश ५ लाई पराजित गरेको थियो । १ सय ९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो । टोलीका लागि आदिल खानले ५३ बलमा ५ चौका सहित ३८ रन बनाए । त्यस्तै ईशान पाण्डेले ४० बलमा ४ चौका सहित २६ रन जोडे । दुबै जना नटआउट हुँदै टोलीको जित सुनिश्चित गरेका थिए । गण्डकीलाई लागि किशोर महतोले २ र विपिन खत्रीले १ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङमा गण्डकीले ३०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै बनाउन सकेको थियो । टोलीको तर्फबाट सुमन घिमिरेले ३२ बलमा ३ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए । त्यस्तै आकाश थापाले ४६ बलमा २ चौका सहित २८ रन जोड्न बाहेक अन्यले निरास गरे । उनीहरुले सातौं विकेटका लागि ५३ रनको साझेदारी गर्दै ५०÷६ को स्थितिबाट एक सय रन कटाउन टोलीलाई सहयोगी ब्याटिङ गरेका थिए । प्रदेश ३ का कप्तान पारसले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै युवा स्पिनर सुर्य तामाङले ८.१ ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिएका थिए । नन्दन यादवको नाममा २ विकेट रह्यो ।

आर्मी लगातार अघि बढ्दै
त्रिभुवन आर्मी क्लबले पीएम कपमा लगातार तेस्रो जित हात पार्दै अगाडि बढिरहेको छ । आर्मीले मूलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय १७ रनले हराएको थियो । यो सँगै विभागिय टोली सेमिफाइनल पुग्ने लगभग निश्चित भएको छ । प्रतियोगितामा यो आर्मीको लगातार तेस्रो फराकिलो जित थियो । यसअघि आर्मीले पहिलो खेलमा प्रदेश २ लाई १ सय ७१ रनले र दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले पराजित गरेको थियो ।

आर्मीले २ सय ९१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा कर्णाली ३५.१ ओभरमा अल आउट हुँदै १ सय ७३ रनमा समेटियो । टोलीका लागि सबै ब्याटसम्यानको प्रदर्शन सामान्य रहेको थियो । ओपनर सुसान्त थापाले सर्वा्धिक ३१ रनको योगदान दिए । उनले ३५ बलको सामना गर्दै ५ चौका प्रहार गरे । त्यस्तै ललित प्याकुरेलले २८ बलमा ३ चौका र १ छक्का सहित २८ रन बनाए । अन्यमा दिवान पुनले ३३ बलमा ३ चौका सहित २६ रन तथा युनिस सिंहले २७ बलमा २ चौका र १ छक्कासहित २० रनको योगदान दिए । आर्मीलाई सहज जित दिलाउन सुशन भारीलाई ९ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै करण केसी र साहव आलमले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । टोलीका लागि रोहित कुमार पौडेलले ५६ रनको योगदान दिए । रोहितले ५१ बलमा ४ चौका प्रहार गरे । ओपनर राजु रिजाल र हरेकृष्ण झाले पहिलो विकेटका लागि २८.३ ओभरमा १ सय ३२ रनको सतकीय साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए । राजुले ७८ बलमा १० चौका सहित ६६ रन जोडे । हरेकृष्णले १ सय बलको सामना गर्दा ४ चौका सहित ५२ रन जोडे । कर्णालीका लागि ललित प्याकुरेलले ९ ओभरमा ६३ रन खर्चेर ५ विकेट लिए ।