लन्डन डर्बीबीच उपाधि भिडन्त


लन्डन, (एजेन्सी)
बुधबार राति युरोपेली फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता यूईएफा यूरोपा लिग सिजन २०१८÷१९ को फाइनल खेल हुँदैछ । नेपाली समय अनुसार आज राति १२ः४५ बजे अजरबैजानको राजधानी बाकुस्थित ओलम्पिक स्टेडियममा इंग्लिश प्रिमियर लिगका दुई लन्डन डर्बी क्लब आर्सेनल र चेल्सी उपाधिका लागि मैदानमा उत्रने छन् ।

साधारणतया एक सिजन दुई पटक मात्र भिडन्त सुनिश्चित गर्ने यी दुवै टोलीले यस सिजन तीन पटक एकअर्कासँग भिडन्त तय गरेका छन् । यी दुई मध्ये बलियो को र कसले जित्छ भनेर यसै भन्न कठिन छ । यस सिजनको प्रदर्शनलाई मूल्याङ्कन गर्ने हो भने उपाधि भिडन्त निक्कै प्रतिस्पर्धात्मक हुने पक्का छ ।

यस सिजनको इंग्लिश प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा रहँदा आर्सेनलले भने पाँचौ स्थान ओगटेको थियो । चेल्सीले ३८ खेलबाट ७२ अंक जोड्दा आर्सेनलले समान खेलबाट ७० अंक बटुलेको थियो । जारी सिजनमा यी दुई एकआपसमा भिड्दा दुवैले आ–आफ्नो घरेलु मैदानमा जित हासिल गरेका थिए । आर्सेनलले आफ्नो घरेलु मैदानमा २–० को जित निकाल्दा चेल्सीले पनि आर्सेनललाई आफ्नो घरेलु मैदानमा ३–२ ले पराजित गरेको थियो ।

आजको खेलमा दुवै टोलीका मुख्य खेलाडीहरुले आफ्ना समर्थकको मुटुको ढुकढुकीलाई बढाउनेछ । चेल्सीको स्ट्राइकर ईडेन हाजार्ड र आर्सेनलको फरवार्ड एन्सले मेटल्याण्ड नाइल्सले विपक्षी गोलरक्षकलाई ब्यस्त पार्नेछन् । जहाँ आन्द्रेस क्रिस्टेन्सेन र डेभिड लुइजको गिरोडलाई सहयोग गर्नेछ भने पिरे एमरिक ओबामेयांग र एलेक्जेन्डर लकाजाटेले पनि आर्सेनलको अग्रपंक्तिलाई चुस्त बनाउन साथ दिनेछ ।

यस्तै मिडफिल्डमा चेल्सीका जोर्जिन्हो र आर्सेनलका लुकास तोरेरोबीच आफूलाई अब्बल सावित गर्न प्रतिस्पर्धा हुनेछ । यो खेलमा अर्मेनिया र अजरबैजानको राजनीतिक चिसोपनको कारण हेनरिख मिख्तारायन आर्सेनलको टोलीमा देखिने छैनन् ।

यूएफा यूरोपा लिगको फाइनल खेलको इतिहासमा दोस्रो पटक दुई इंग्लिश टोलीले उपाधिका लागि खेल्दैछन् । यसअघि सन् १९७२ को यूरोपा लिग फाइनलमा टोटेनह्याम हट्सपर र वोल्भ्सबीच फाइनल खेलिएको थियो । सबैखाले प्रतियोगितामा गरी यी दुवैले एक अर्कासँग १ सय ९८औं पटक खेल्दैछन । तर यूरोपियन च्याम्पियनशिपमा भने यी दुईले तेस्रो पटक मात्र एकअर्काविरुद्ध खेल्न लागेका हुन् । पछिल्लो पटक सन् २००३÷०४ सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भेट हुँदा चेल्सी समग्रमा ३–२ ले विजयीे भएको थियो ।

यूरोपको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा यो समेत आर्सेनल र चेल्सीले समान ६ पटक खेल्न लागेको हो । इंग्लिश क्लबमध्ये सर्वाधिक १४ पटक लिभरपुल तथा म्यानचेस्टर यूनाइटेडले ७ पटक प्रतिष्ठित यूरोपियन क्लबस्तरीय प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । अहिलेसम्म यूरोपको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा आर्सेनलले खेलेको ५ मध्ये ४ म्याच गुमाएको छ । सन् १९९४ को विनर्स कपको फाइनलमा आर्सेनलले इटालियन क्लब पर्मालाई हराएको थियो । बाँकी तीनमा सन् १९९५ को विनर्स कप, सन् २००० को यूएफा कप र सन् २००६ को च्याम्पियन्स लिग फाइनलमा टोली हारेको थियो ।

कुनैपनि यूरोपियन च्याम्पियनशिपको फाइनलमा चेल्सीले खेलेका ५ मध्ये ४ मा जित हासिल गरेको छ । जसमध्ये दुई पटक विनर्स कप, समान एक–एक पटक च्याम्पियन्स लिग र यूरोपा लिग रहेका छन् ।

यो समेत यूरोपा लिगको पछिल्लो १० वर्षमा तीन पटक एउटै राष्ट्रका लिग क्लबबीच फाइनलमा भेट हुन लागेको हो । यसअघि सन् २०११ मा पोर्चुगलको ब्रागा र एफसी पोर्टो तथा सन् २०१२ मा स्पेनको एट्लेटिको मेड्रिड र एथ्लेटिक क्लबले फाइनल खेलेका थिए ।

आर्सेनलका वर्तमान मेनेजर उनाई एमेरी सर्वाधिक यूरोपा लिगको उपाधि जित्ने प्रशिक्षक हुन् । उनी सेभियामा रहँदा सन् २०१४, २०१५ र २०१६ गरी तीन पटक यूरोपा लिग जितेका थिए ।

जारी सिजनको यूरोपा लिगमा १० गोल गरेका फ्रेन्च स्ट्राइकर ओलिभर गिरोड यस सिजनको यूरोपियन प्रतियोगितामा सर्वाधिक गोल गर्ने चेल्सीका एक्लो खेलाडी बनेका छन् । यसअघि सन् १९६३÷६४ को कप विनर्स कपमा नेस्टर कोम्बिन र १९५८÷५९ को यूरोपियन कपमा जस्ट फोन्टेन समान १० गोल गर्ने फ्रेन्च खेलाडी बनेका थिए ।

यदि आर्सेनलले यूरोपा लिग जितेमा दुई भिन्दा भिन्दै क्लबबाट युरोपको प्रतिष्ठित उपाधि जित्ने उनाई एमेरी चौथो म्यानेजर बन्नेछ । यसअघि इन्टर मिलान र युभेन्ट्सबाट जियोभनी ट्रापाटोनी, पोर्टो र म्यानचेस्टर यूनाइटेडबाट जोसे माउरिन्हो तथा भ्यालेन्सिया र चेल्सीबाट राफेल बेनिटेज हुन् । आर्सेनल र चेल्सी दुवैले छनोट चरणबाहेक यस सिजन यूरोपा लिगको ११ खेल जितेका छन् ।
आर्सेनलका तर्फबाट भएको पछिल्ला ८ गोलमा पिरे एमरिक ओबामेयांग र एलेक्जेन्ड्रे लाकाजेटेले समान चार–चार गोल गरेका छन् ।

जारी सिजनको यूरोपा लिगको फाइनल आयोजक बन्ने अजरबैजान २४औं राष्ट्र बन्दैछ । यो बाहेक कुनै पनि प्रतिष्ठित यूरोपियन प्रतियोगीताको फाईनल पहिलो पटक आयोजना गर्ने अजरबैजान तेस्रो मुलुक समेत बनेको छ । यसअघि २०१६÷१७ मा वेल्स र २०१७÷१८ मा यूक्रेनले च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गरेका थिए ।