सत्यमोहन जोशीको सय वर्षको जन्मदिन मनाइयो


ललितपुरमा सामूहिक नामसंगीति पाठ र काठमाडौंमा १ करोडको कोषको घोषणा हुने

नेपाल समाचारपत्र, काठमाडौं ।
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको सय वर्ष पुगेको अवसरमा मंगलबार विविध कार्यक्रम गरी मनाइयो ।

वरिष्ठ संस्कृतिविद् जोशी तिथि अनुसार ९९ वर्ष पुरा गरी मंगलबार १ सय वर्षमा पुग्नुभएको छ । वि सं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो ।

यस अवसरमा नेपाल परम्परागत बौद्ध धर्म संघले ललितपुर महानगरपालिकासंग मिलेर मंगलबजारस्थित कार्तिक डबलीमा बृहत आर्य नामसंगीति पाठ कार्यक्रमको आयोजना गरेको छ ।

समारोहमा ललितपुरका ३५ टोलका सयौंले विशेष महिलाहरुले सत्यमोहन जोशीको दीर्घजीवन, सुस्वास्थ्यको कामना गरी एक साथ नामसंगीति पाठ गरिएको थियो । नाम संगीतिको पाठको गुञ्जन पाटन दरबार क्ष्ँेत्रको माहौल बिहानैदेखि धार्मिक र शान्तपूर्ण बनेको थियो ।

सो अवसरमा वरिष्ठ संस्कृतिविद् जोशीले नामसंगीति पाठले आफूले आफै चिन्ने, जीवन र जगतलाई बोध गर्ने क्ष्ँमता अभिवृद्धि हुने उल्लेख गर्दै सुखी र शान्तिपूर्ण जीवनका लागि नामसंगीति पाठ र धारण महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

यस अघि बज्रयान परम्परा अनुसार मंगलास्त्रोत पाठ गरी जोशीको नेवारी परम्परा अनुसार सगुण दिइएको थियो । सहभागीहरुले खादा ओढाई दिर्घ जीवनको कामना गरे ।बिहान घरमा आफ्नो ९६ वर्षीया श्रीमती राधादेवी जोशीसंगै बसेर परिवारबाट सगुण लिई जोशी समारोहमा सहभागी हुनुभएको थियो । ‘सबैको सद्भाव, मैत्रीले अझै बाँच्न, अझ सक्रिय रुपमा जीवन बिताउन उर्जा मिलेको छ । सबैप्रति म अनुगृहित छु ।’ जोशीले समारोहमा भन्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा नरेशमान बज्रचार्य, प्रा. डा बज्रराज शाक्यले अमूर्त संस्कृतिकोको रुपमा नामसंगीति पाठ, प्रज्ञापारमिता पाठको परम्परालाई जोगाउन संस्कृतिविद् जोशीको भूमिकामा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो । सो अवसरमा समाजसेवी एवं नामसंगीति पाठ अभियन्ता रमेश महर्जन, सरिता महर्जन र ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यको पनि उपस्थिति रहेको थियो ।

१ करोडको सत्यमोहन जोशी कोष घोषणा गरिने

सो अवसरमा आज साझँ राजधानीको क्षेत्रपाटी, खुशिबुमा एक समारोहकाबीच वाङमय शताब्दी सत्यमोहन जोशी कोष घोषणा हुने कार्यक्रम रहेको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी कोषका संयोजक एवं पूर्व सांसद् लक्ष्मीदास मानन्धरले जानकारी दिनुभयो ।

मातृभाषाको विकास, शिक्षा, संस्कृति संरक्षणका लागि तत्काल १ करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यले सो को घोषणा गर्ने लागिएको बताइएको छ ।
यस अघि गते अनुसार सय वर्षको अवसरमा गत बैशाख ३० गते सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको थियो ।