मुख्यमन्त्री सहितको मन्त्रीहरुको टोलीद्वारा सेती अञ्चल अस्पताल सरसफाई


हेमन्त पौडेल, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले मंगलवार सेती अञ्चल अस्पतालमा सरससफाई गरेको छ । गणतन्त्र दिवसको सन्दर्भ पारेर मुख्यमन्त्री भट्ट सहित अन्य मन्त्री,समाजिक विकास मन्त्रालयका सचिव, प्रदेश न्याधिवक्ताको टोलीले मंगलवार विहान सेती अञ्चल अस्पताल सफाई गरेको हो । विहान ७ बजेनै मुख्यमन्त्री सहित मन्त्रीहरुको टोली पुगेर अस्पतालको हाताभित्र सफाई गरेको थियो । हातहातमा झाडु सहित अस्पतालमा पुग्नुभएका मुख्यमन्त्री भट्टले अस्पतालको अवस्था बारेमा समेत जानकारी लिनुभएको थियो ।

अस्पतालको हातभित्र सरसफाई गरेपछि मुख्यमन्त्री भट्टले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै केही समयभित्र अनुभुति दिलाउने गरेर काम भइरहेको जानकारी दिनुभयो । अस्पतालको ब्यवस्थापनका लागि आवश्यक रकम प्रदेश सरकारले दिने सो अवसरमा बताउनुभयो । अस्पतालले काममात्र गरोस पैसाको कमी हुन दिन्नौ उहाँले भन्नुभयो । अस्पताल हाताभित्र बन्न लागेका नयाँ संरचनाहरुको समेत मुख्यमन्त्री सहित मन्त्रीहरुले निरिक्षण गर्नुभएको थियो । पुरानो भवनलाई पनि मर्मत गरेर नयाँ ब्यवस्थापनको काममा लागेको अस्पतालका मेसु डा. हेमराज पाण्डेले बताउनुभयो । अस्पताको पानीको समस्या समाधानकालागि डिप बोरिंगको काम शुरु भएको सो अवसरमा डा पाण्डेले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मीक कक्षका साथै अन्य वार्डहरुको समेत निरिक्षण गर्नुभएको थियो । अस्पतालको फोहोर ब्यवस्थापन र दुर्घन्ध हटाउने काममा अस्पताल प्रशासन तदारुपताका साथ लाग्नुपर्ने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो । अस्पताल भित्रकोे दुर्गन्धले विरामीका साथै कुरुवालाई समेत असहज हुने गरेको गुनासो सुनिने गरेकाले त्यसतर्फ ध्यान दिन मन्त्री सुवेदीले मेसु डा. पाण्डेलाई निर्देशन दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव ई. गोगनबहादुर हमालले ६ महिनाभित्र सेती अञ्चल अस्पतालको आमुल परिवर्तन गर्ने गरेर काम भएको जानकारी दिनुभयो । अस्पतालाई ब्यवस्थापन गर्ने काम तिब्ररुपमा भएको छ बाहिर देखिन केही समय लाग्छ उहाँले भन्नुभयो । आफूले सेती अञ्चल अस्पतालाई प्राथमिकतामा राखेर काम गरेको उहाँले बताउनुभयो । सचिव हमालले भन्नुभयो – ६ महिनापछि सेती अञ्चल अस्पताल यस्तो थियो र भन्ने बनाउँछौ ।

सेती अञ्चल अस्पतालको अहिलेको संरचनाले काम गर्न केही कठिनाई भएकाले अस्पतालसंगै जोडिएको मेडिकल स्टोरलाई अन्यत्र सारेर सो स्थानमा ओपिडि बनाउँदा उपयुक्त हुने भनेपछि त्यसका लागि पहल गर्ने आश्वासन मुख्यमन्त्री सहितको मन्त्रीको टोलीले आश्वासन दिएको छ । अहिले अस्पताले आन्तरिक ब्यवस्थापनको काममा तिब्रगतिका साथ लागेको मेसु डा. पाण्डेले बताउनुभयो । पहिलाको तुलनामा अहिले फोहोर ब्यवस्थापनको काम राम्रो भएको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको कम्जोर ब्यवस्थापन तथा अस्पतालमा भएको फोहोर र पानीको समस्याले सेवाग्राही समस्यामा परेको भन्ने समाचारहरु सार्वजनिक भएपछि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको थियो । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका मेसु डा.हेमराज पाण्डेसंग अस्पताका बारेमा यस अघि जानकारी लिनुभएको थियो । मुख्यमन्त्री भट्टले आफू मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सेती अञ्चल अस्पतालको भ्रमण गर्नुभएको थियो ।