लालीगुराँस ‘राष्ट्रिय फूल’ हुने सयपत्रीहरू किन नहुने ?


टीका बन्धन, काठमाडौँ ।
नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ?
यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।

तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गर्नुभएको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो । पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बताउनुभयो ।

‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’–विगत स्मरण गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

विभागका तत्कालिन सिनियर बोटानिस्ट प्रयागराज पाण्डे नेतृत्वको टोलीले दरवारलाई त्यस्तो सुझाव दिएको थियो । अन्य मुलुकमा भएका राष्ट्रिय फूल र आवश्यक सन्दर्भ सामग्रीको खोजीमा जुट्नु भएका पाण्डे हप्तौ दिन केशर पुस्तकालय धाउनुभएको थियो ।

मुलुकको पूर्वदेखि सुदुरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी भेगमा ३१ प्रजातीका गुराँस पाइन्छ । लालिगुराँस भने मेचीदेखि महाकालीसम्म फैलिएकाले यो वनस्पतिलाई राष्ट्रिय पहिचानका लागि सिफारिस गरिएको थियो ।

लालिगुराँसले राष्ट्रिय पहिचान पाएको केही महिनाभित्रै इजरायलको हाइफा शहरमा भएको विश्वका बहुसंख्यक मुलुकको राष्ट्रिय फूलको चित्र प्रदर्शनीमा नेपालले समेत भाग लिएको श्रेष्ठले सम्झनुभयो ।

‘त्यो बेलाका कलाकार रामानन्द जोशीले जिवन्त स्वरुपमा उतार्नुभएको चित्र प्रर्दशनीमा पु¥याइएको थियो, त्यो प्रदर्शनीले नेपालको राष्ट्रिय फूलको परिचय फराकिलो बन्यो’–उहाँले भन्नुभयो । श्रेष्ठले दोहो¥याउँदै भन्नुभयो–‘सो अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालले कुनै पदक पाएन तर राष्ट्रिय फूल छनोट लगत्तैको सो सहभागिता नेपालका लागि ज्यादै महत्वर्पूण उपलब्धी हो ।’

ल्याटिन भाषाका ‘रोडो’ (रातो) र ‘डेन्ड्रन’ (वृक्ष) शब्दको संयोजनबाट अंग्रेजी शब्द रोडोडेन्ड्रन बनेको वनस्पतिविद् बताउँछन् । संसारभर गुराँसका १ हजार १ सय ५७ प्रजाति अभिलेख गरिएको छ भने नेपालमा ३१ प्रजाति पहिचान भएका वनस्पति विभागले जनाएको छ ।

नेपालको कूल वन क्षेत्रको करिव १० प्रतिशत भेग गुराँसका प्रजाती पाइने मिश्रित जंगलले रहेको र यस्तो जंगलले करिव ६ लाख ९२ हजार हेक्टर क्षेत्रफल ओगटेको वन तथा वातावरण मन्त्रालयको अभिलेख छ ।

ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे)मा सबै भन्दा धेरै २८ प्रजातिका गुराँस पाइने भएकाले सो भेगले गुराँसको राजधानीको उपमा पाएको छ । यो वनस्पति नेपालसहित चीन, भारत, भूटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्टे«लियामा पाइन्छ ।

झाडी, मझ्यौला आकारमा धेरै प्रजाति अभिलेख भएको यो वनस्पतिको ठूलो वृक्षकद भने नेपाल र चीनमा मात्रै पाइने गरेको अर्का वनस्पतिविद् पुष्पमान अमात्यले जानकारी दिनुभयो ।

नेपालका वनस्पतिबारे चासो राखेका फ्रान्सेली नागरिक रेने डी मिलभिल्लेले पञ्चायतकालमै टीएमजेको स्थलगत अध्ययन÷अवलोकन गरेका थिए । पर्यटक पथप्रर्दशक समेत रहेकाले उनले धेरै पटक नेपाल भ्रमण गरेका थिए, नेपाल आउँदा प्राय टीएमजे पुगिरहन्थे ।

त्यहाँको जैविक विविधता र गुरासँका प्रजातिबारे रिपोर्ट तयार गरेका मिलभिल्लेले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सो भेगको संरक्षण गर्न सुझाब दिएका थिए । मिलभिल्लेले सुझाएका पथ पछ्¥याउँदै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले २०५० देखि टीएमजेमा संरक्षण क्रियाकलाप शुरु गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी २०५४ मा वनमन्त्रीको जिम्मेवारीमा रहँदा संरक्षणकर्मीले टीएमजेको महत्वबारे अवगत गराउँदै सो क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन सुझाइएको थियो । सरकारले वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५३ अनुसार टीएमजे गुराँस संरक्षण क्षेत्र घोषणा ग¥यो । त्यसपश्चात् सो भेगमा समुदायद्धारा संरक्षित क्षेत्रको अवधारणा अघि बढेको छ ।

नेपालको वन नीति २०७१, वन क्षेत्रको रणनीति २०७२ र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनाअनुसार ५ वर्षे गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) तयार भएको छ । त्यसअघि नेपाल जैविक रणनीति कार्यान्वयन योजना (२०६३–२०६७)ले टीएमजेलाई मुलुकका प्राथमिकता क्षेत्रमध्येको एक क्षेत्रका रुपमा पहिचान गरेको थियो ।