प्रतिनिधिसभा बैठकः गृहमन्त्रीलाई प्रश्नै प्रश्न, सत्तापक्ष र प्रतिपक्षीबीच घोचपेच


गंगा बराल, काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा, सत्तापक्षका र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच घोचपेच भएको छ । पछिल्लो शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीले जवाफ दिइसकेपछि जवाफ चित्त नबुझेको भन्दै कांग्रेस सांसदहरुले पुन: प्रश्न गरेका थिए ।

गृहमन्त्रीले आइतबारको घटनामा मृत्यु हुनेहरु सर्वसाधारण नभएको र विप्लव नेतृत्वको माओवादी नै कार्यकर्ता नभएको बताएपछि कांग्रेसका सांसदहरुले गृहमन्त्रीको विरोध गरेका थिए ।

गृहमन्त्रीले भन्नुभयो ‘ ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो , ती जनता होइनन् , ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले गर्दा ज्यान गएको अहिलेसम्मका अनुसन्धानले पुष्टि भएको छ ।

गैह्र कानुनी र आपराधिक क्रियाकलाप सँग सम्बन्धित नै ती व्यक्तिहरु थिए । त्यसकारले तीनीहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ । उनीहरु घटनासँग सम्बन्धिीत व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन्, त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’ सत्तापक्षका सांसदहरुले भने सरकारको बचाउ गरेका थिए ।

विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नमा उहाँले ‘नाजायज प्रश्न’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो ‘सरकार र विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन् । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।’

उहाँले शान्ति पुर्ण रुपमा समस्या समाधान गर्नुपर्न भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो । उहाँले पाँचथर घटनाको अनुसन्धान जारी नै रहेको भन्दै अपराधी छिटै नै कानुनको कठघरामा आउने बताउनुभयो ।

उहाँले दार्चुला घटनाका घाईतेलाई सरकारले उपचारको व्यवस्था गरी राहतको प्रक्रिया अघि बढाउने स्पष्ट पार्नुभयो । गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाउनुभएको थियो । उहाँले भन्नुभयो ‘घुमाएर नबोलौं, हिजोको घटनामा कुन पार्टीको कुन माननियको संलग्नता छ ,त्यो प्रस्ट रुपमा आउनुपर्छ ।

हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्धकालमा जति मरे ÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैह्रजिम्मेवारीपूर्वक शब्द प्रयोग गर्नुहुन्न, गर्न पाईन्न । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

सभामुख कृष्णबहादुर महराले सोबारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।