माण्डवी गाउपालिकाको केन्द्र जस्पुर तोकियो


प्युठान, लामो समयदेखि अन्योलमा रहेको माण्डवी गाउँपालिकाको केन्द्र बिबाद टुङ्गिएको छ ।

सहमतीमा केन्द्र निर्धारण हुन नसकेपछि निर्वाचनबाट गाउँपालिकाको केन्द्र टुङ्ग्याईएको हो ।

केन्द्रकै बिषय समाधान गर्न आइतबार बसेको गाउँपालिकाको विशेष गाउँसभाले चकचकेको जस्पुरमा केन्द्र राख्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिनुभयो ।

जनप्रतिनिधी फरकफरक मतमा विभाजन हुँदा केन्द्र कहाँ रहने भन्ने बिषय यस अघि टुङ्गिन सकेको थिएन।

गाउँपालिकाको निर्णय अनुसार हाल देविस्थानबाट हुँदै आएको दैनिक प्रशासनिक कामकाज अब जस्पुरबाट संचालन हुने भएको छ। २९ गाउँसभा सदस्यमध्ये २८ जनाले जस्पुरमा केन्द्र राख्ने निर्णयलाई समर्थन गरेका हुन्।

तर, पाँच नम्बर वडा सदस्य इश्वर बहादुर थापाले उक्त प्रस्तावको बिपक्षमा उभिनुभयो।स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा १ बमोजिम प्रदेश सरकारसँग परामर्श लिइ नेपाल सरकार समक्ष गाउँपालिकाको केन्द्र जस्पुरमा सार्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोकामगरले जानकारी दिनुभयो।

सेवाग्राहीको पहुँच, भूगोल र जनसंख्यालाई आधार मानेर जस्पुरमा केन्द्र राख्ने निर्णय भएको उहाको भनाई छ। जस्पुरमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले यसअघि १९ रोपनी क्षेत्रफल जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन्।

माण्डवी गाउपालिकामा पाच वटा वडा छन।गाउँपालिका श्रोतका अनुसार गाउँपालिकाका अन्य भौतिक योजनाको कामकाज देविस्थानबाटै हुनेछ। बहुउदेश्यीय सभाहल, १५ शैयाको हस्पिटल, चिस्यानकेन्द्र, कृषि र पशु विकासतर्फका कार्यालय देविस्थानबाटै संचालन हुनेछन्।