बुटवलमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन शिलान्यास, लागत १ अर्ब २ करोड


आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष: महासचिव पौडेल

यमलाल भुसाल, बुटवल ।

एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नु भएको हो ।

प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधीमा निर्माण पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । उहाँले बुटवल मण्डपमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको लागि बजेटको कुनैपनि कमी हुन नदिने उल्लेख गर्दै तोकिएको समयमा निर्माण गर्न निर्देशन दिर्नु भएको हो् ।

रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुंदै छ । महासचिव पौडेलले आगामी आर्थिक वर्ष तिब्र बिकासको वर्ष बनाउने तयारी भएको बताउनु भएको छ ।

महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष बनाउन लागेको बताउनु भयो । शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्ने महासचिव पौडेलले दावी गर्नु भयोे ।

शहरी विकास मन्त्रालयका महानिर्देशक मनिराम गेलालका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन् । १२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तिनसय स्टल सहभागि हुन सक्ने छन् ।

बैठक हल भने एउटा साढे तिनसय स्क्वायर मिटर र अर्को साढे दुईसय मिटर स्क्वायर मिटरको हुने छ । प्रदर्शनी केन्द्रमा सबै हलमा गरी ८ सय ३८ स्टल सहभागि हुन सक्ने छन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग–अलग गर्न मिल्ने गरी डिजाईन गरिएको गेलालले जानकारी दिर्नु भयो ।

प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् । त्यस्तै २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण हुने छ । यस्तै एक लाख १० हजार वर्ग्फिट क्षेत्रफलमा बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल क्षमताको पार्किङस्थल बनाईने छ ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने र त्यसको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भईसकेकोले बताईएको छ । स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएकोमा स्थायी प्रदर्शनी केन्द्र निर्माण पछि ठूलो राहत मिल्ने भन्दै उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।