असार १७ मा पल्सर स्पोर्ट्स अवार्ड


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर  अवार्डको १६औं संस्करण आगामी असार १७ गते आयोजना हुने भएको छ ।

मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्ट्स अवार्ड २०७५ को मिति सार्वजनिक गरेको हो । २०७५ सालभर खेल क्षेत्रबाट नेपाली खेलकुदमा योगदान पु¥याउने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई उक्त दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा विशेष समारोहकाबीच अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

यस संस्करणमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी गराए । यसवर्ष वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट खेलाडी पुरुष, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथ्लिट अवार्ड, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इअर अवार्ड प्रदान गरिनेछ । विगत वर्ष झै यसवर्ष पनि वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, पिपुल च्वाइस अवार्ड र वर्षको उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यसबाहेक अन्य विधाका विजेताले जनही ५० हजारसहित गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

यस वर्ष इन्टरनेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड थप गरिएको छ । यो अवार्ड एसियन स्पोर्ट्स प्रेश युनियनले सिफारिस गरेको एक खेलकुद पत्रकारलाई प्रदान गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले बताए ।
अवार्ड कार्यक्रमको मुख्य प्रायोजक विगतमा झै यसवर्ष पनि हंशराज हुलासचन्द एण्ड कम्पनीको पल्सर मोटरसाइकल रहने छ । कम्पनी र मञ्चबीच आइतबार नै यस संस्करणका लागि सम्झौता भएको छ । सम्झौतापत्र हंशराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले आदानप्रदान गरेका थिए । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि साढे २८ लाख बराबरको नगद र जिन्सी सहयोग गर्नेछ । जसमा ४ वटा पल्सर मोटरसाइकल रहेका छन् ।

विगतभन्दा २० प्रतिशतले प्रायोजक रकम बढेको कम्पनीका कार्यकारी निर्देशक गोल्छाले बताए । एनएसजेएफका अध्यक्ष सुवेदीले यो अवार्ड खेलुकद पत्रकारको मात्रै नभएर राष्ट्रिय अवार्ड भएको भन्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई सहयोग पु¥याउन आग्रह गरे ।