दीपक र कुशलले पुलिसलाई जिताए


काठमाडौँ , (नेस)
दिपक नाथ र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपाल पुलिसले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

मुलपानी मैदानमा म्याट राखेर खेलाइएको उक्त प्रतियोगिताअन्तर्गत आइतबार खेलाइएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । दिलिप र कुशलले शतकिय साझेदारी गर्दा बलिङमा आरिफले ४ र ललितले ३ विकेट लिए ।

मात्र २२ रन जोड्दा ५ विकेट गुमाएको पुलिसको इनिङ्स दिलिप र कुशलले शतकिय साझेदारी गर्दै उकासेका थिए । यी दुईले छैटौँ विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए ।

४१ ओभर मात्र क्रिजमा टिकेको पुलिसले यी दुईको उत्कृष्ट ब्याटिङ मद्दतमा १ सय ८५ रन बनाएको थियो । पुलिसको लागि दिलिपले ७२ र कुशलले ६२ रन बनाए । दिलिपले ८४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशलले ७७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । पुलिसका बाँकी ९ खेलाडीले भने दोहोरो अंक समेत छुन सकेनन् ।

खेलको पहिलो ओभरको पहिलो बलमै सुदल पोखरेलले अनिल शाहलाई आउट गर्दै कर्णालीले शानदार सुरुवात गरेका थिए । त्यसपछि सुदलले पुलिसका पवन सर्राफ, अमित श्रेष्ठ, दिपेन्द्र सिंह भरी र आरिफ शेखलाई आउट गर्दै ५ विकेट झारेका थिए । तर त्यसपछि भने दिलिप र कुशलले शानदार ब्याटिङ गरे । सुदल पोखरेलले ७ ओभरमा २ मेडन राख्दै १६ रन मात्र खर्चेर ५ विकेट लिए। दिवन पुनले २ विकेट लिए ।

पुलिसका बलरको घातक बलिङ सामु टिक्न नसकेको कर्णाली प्रदेश २७ ओभरमा ९१ रनमा अलआउट भयो । कर्णालीलाई अलआउट गर्न पुलिसका आरिफ शेखले १० ओभर बलिङ गर्दा ४ ओभर मेडन राख्दै २० रन खर्चेर ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ ओभरमा ७ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकाल, पवन सर्राफ र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

आर्मीको दोस्रो जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मा लगातार दोस्रो जित हात पारेको छ ।

प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा आइतवार भएको समूह बी को खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १ सय १३ रनले पराजित गरेको हो । यसअघि आर्मीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियो । समूह बी मा आर्मी दुई जितबाट ४ अंकसहित शीर्ष स्थानमा छ । यस्तै एक खेलबाट २ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।

मुलपानी क्रिकेट मैदान सञ्चालनमा

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सोमबारदेखि सञ्चालनमा आएको छ ।

तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेलसंगै मैदान सञ्चालनमा आएको हो । खेल सुरुआत गराउने क्रममा प्रदेश सांसद मणिराम फुयालले म्याच कमिसनरलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरेका थिए ।

मूलपानी हो कि मेलम्चीको पानी
मूलपानी तयार हुने र काठमाडौंमा मेलम्चीको पानी आउने उस्तै उस्तै हुन थालेको छ । मेलम्चीको पानी काठमाडौंमा आउँछ आउँछ भनेको करिब ४ दशक पुग्न लागेको छ । फरक यति हो कि मूलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्दै गरेको डेढ दशक बितिसकेको छ । पुरा चाहि भएको छैन ।

२०६० सालमा शुरु गरेको मूलपानी रंगशाला बनिसक्नु पथ्र्यो अहिलेसम्म । लगभग १५ वर्ष नाघेको अवस्था छ । मूलपानी क्रिकेट रंगशाला तयार नहुँदा नेपालले कीर्तिपुरकै त्रिवि मैदानलाई मात्रै प्रयोग गर्नु बाध्यता छ । हाललाई कुनै टोलीलाई नेपाल बोलाएर खेलाउने स्थिति नै छैन । यसले गर्दा नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको उपलब्धि पनि त्यतिकै खेर जाने संभावना छ ।
आईतबार मात्रै पनि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको खेल मूलपानीमा खेलाइयो । नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेल खेलियो तर खेल्नु प¥यो म्याटमा । पिच तयार नभएको हुँदा आयोजक राष्ट्रिय खेलकुद परिषदले म्याट बिछाएर खेलाइयो । जसमा पुलिसले जितेको थियो ।
म्याटमा खेल्नु नहुने त होइन । तर आधुनिक युगमा पनि म्याटमा खेल्नु पर्दा यो कतै पुरानो युग हो कि भन्ने भान भएको छ । पुलिसका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवालले त हामी १५ वर्ष पछाडि धकेलियौं समेत भने । उनले भने—“हामी अगाडि बढ्ने कता कता पछाडि धकेलियौं ।‘

प्रधानमन्त्री कप जेठ १० गतेदेखि शुरु भएको थियो । उदघाटन नै मूलपानीमा गर्ने योजना थियो । तर मूलपानी मैदान तयार भएको थिएन, यसैले शुक्रबार र शनिबारको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको थियो । आईतबारको खेल मूलपानीमा शुरु गर्नु पनि परिषदका सदस्यसचिवले मैदान तयार हुँदैछ भनेर सन्देश दिनका लागि खेलाइएको भन्दै उपलब्धि पाए झै प्रतिक्रिया दिए ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेले म्याटमा खेल्नु अलि अस्वाभाविक नै लाग्ने बताए । क्यानका पूर्व अध्यक्ष पाण्डेले नेपाल समाचारपत्रलाई बताए–‘खेल्नु हुन्छ नहुने होइन । तर एकनास हुनुपर्छ । आज म्याटमा खेलाइयो भोलि पिचमा खेलाउने यस्तो चाहि गर्नु हुँदैन । अहिलेसम्म पिच पनि बनिसक्नु पथ्र्यो त्यो पनि भएको छैन । जे पनि समयमा हुनुपर्छ । बेथितिको अवस्था सिर्जना गर्नु हुँदैन । आधुनिक समयमा पिचमा खेलिरहेका खेलाडी म्याटमा खेल्नु पर्दा स्वाभाविकै स्तब्ध भइहाल्छ ।‘