असिनाले छानो छियाछिया बनाएपछि पालमुनीको बास


दुर्गाप्रसाद शर्मा, पर्वत ।
असिनाले बालीनाली सखाप बनाउने कुरा बर्षेनी दोहोरिने गरेको छ तर पर्वत जिल्लामा ७५ बर्षपछि परेको भिषण असिना पानीले बालीनालीमा मात्रै होइन सर्वसाधरणका घरका छाना समेत छियाछिया बनाएको छ । बर्षा याममा पाल मुनि रात काट्न थालेका छन ।
असिनाले टिनको छानो छेडेपछि केही पिडीतले थोत्रो पालले छोपेर रातकाटेका छन भने केहीले रातमा आकाशका तारा हेरेर बिताउन बाध्य भएका हुन ।
भीषण असिनापानीले पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ पकुबा, वडा नं १४ आर्थर र मोदी गाउँपालिका ७ राम्जा तथा वडा नं ८ चित्रे, वडा नं ५ बाजुङ्ग, वडा नं २ देउपुरमा किसानहरुले लगाएको नगदेबाली तथा मौषम अनुसारको तरकारी खेती नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जा, बाजुङ्गमा सर्वसाधरणका घर र बिद्यालयहरुमा समेत क्षति पु¥याएको छ ।

असिनापानीले घरको छानो छियाछिया पारेपछि थोत्रो पालको ओत लागेर रात कटाउन बाध्य भएको कुस्मा नगरपालिका वडा नं ११ पकुवा पाथ्राबारीका प्रेमबहादुर बिकले बताउनुभयो । ‘असिनाले टिनको छानोमा चाल्नो जसरी छियाछिया बनाएको छ’, छानो देखाउँदै बिकले भन्नुभयो ‘पानी परेमा रात काट्न छाता ओढेर बस्नुपर्छ, अन्नपात र लुगाफाटो जोगाउन पनि गाह्रो भयो । बिहीबार दिउँसो यस क्षेत्रमा ३ सय ग्राम भन्दा ठुला असिना झण्डै आधा घण्टा सम्म परेको थियो ।

यति बिनासकारी असिना ७५ बर्षपछि आएको स्थानिय बुढापाकाको अनुभब छ । असिनाले पाथ्राबारी र लामागे गाउँमा ३० घर भन्दा बढीमा क्षति पुगेको छ । खिया लागेको मात्रै होइन, दुई तीन बर्ष पहिले राखेका टिन समेत कामै नलाग्ने गरि छेडेको छ ।‘असिना आएपछि पानी नपरेका कारण घरभित्रै रुझेर बस्नुपरेको छैन’ पिडीत दुर्गाबहादुर बिकले भन्नुभयो ‘पानी पर्ने हो भने ओत लाग्न कता जाने भन्ने समस्या छ’

असिनाकै कारण धेरै घरमा क्षति पुगेपछि कुस्मा नगरपालिका वडा नं ११ का अध्यक्ष शिब पौडेल पाल बोकेर पिडीत बस्तीमा पुग्नुभयो । लामागे र पाथ्राबारी, छापामा गरेर सय घरमा क्षति पुगेको र पाल बितरण गरेर तत्कालका लागि राहत दिने काम भएको उहाँले बताउनुभयो ।

असिनाले कुस्मा र मोदीगाउँपालिकाका बिभिन्न वडामा पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रतिनिधीसभाका साँसद पदम गिरी समेत पुग्नुभयो । उहाँले, पकुवा, राम्जा, चित्रे, बाजुङ्गमा पुगेर पिडीत कृषकलाई भेटेर राहतका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो । असिनाले मकै, ताजा तरकारी, आलु, फलफुल खेतीमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।

कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा सबैभन्दा बढी मकैखेतीमा क्षति पुगेको छ । खेतबारीमा उत्पादन दिने अवस्थामा पुगेको मकै र रोप्न लागेको कोदोको बीउ नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जामा लाखौ लगानीमा तयार भएका मोडेल फारमका तरकारी तथा प्लाष्टिक ग्रिन हाउसहरु नष्ट भएका छन ।