माछा तस्करी मौलायो


नेपाल समाचारपत्र, भद्रपुर ।
क्वारेनटाइन विभागले भारतबाट हेल्थ प्रमाण पत्रबिना आयातित मासुजन्य पदार्थमा रोक लगाएपछि झापामा विषेश गरि माछा तस्करी मौलाएको छ । सशस्त्र प्रहरीले शनिबार दिउँसो एकसय किलोभन्दा बढी भारतीय माछा बरामद गरेपछि यस्तो पुष्टी भएको हो ।

झापाका मुख्य भन्सार काँकडभिट्टा र भद्रपुरमा माछा नआएपछि अन्य केचना, गौरीगञ्ज र टाघनडुब्बा छोटी भन्सारबाट प्रहरी प्रशासनलाइ खुसी पारेर माछा नेपाल भित्र्याउन थालेका छन् ।

भद्रपुरमा रहेको पशुक्वारेनटाइनले चेकजाँच बिना नै वर्षौयता देखी माछा पठाउदै आएको थियो । तर, गत फागुन महिनाबाट नेपाल सरकारले भारत पशुक्वारेनटाइनको समेत प्रमाण पत्र माग गरेपछि माछा कारोबारी अतालिएका थिए ।

कारोबारीले अवैध रुपमा विभिन्न नाकाबाट माछा भित्र्याउन थालेको जानकारी आएपछि गण नम्बर २ बाट खटिएका प्रहरीले मेचीनगरनगरपालिका १० धुलाबारीबाट शनिबार दिउँसो माछा बरामद गरिएको सशस्त्र प्रहरी गण २ का एसपी रेशम कुमार थक्सूले बताउनुभयो । नेपाल सरकारले लागू गरेको नीति नियम पालना गर्नु पर्ने भएकोले जनशक्तीले भ्याएसम्म तस्करी नियन्त्रण गरिने एसपी थक्सूको भनाइ छ ।

भारतले खान योग्य छ भन्ने प्रमाण पत्र आएपछि मात्र नेपालमा स्वीकृत गरिने पशुक्वारेनटाइन भद्रपुरका चिकित्सक डाक्टर रमेश घिमिरेले बताउनुभयो । पशुस्वास्थ्य सेवा ऐेन २०५५ तथा नियमावली २०५६मा व्यवस्था भएपनि २० वर्षपछि यो दफा लागू गरिएको घिमिरेको भनाइ छ ।

व्यापारीले भारतको प्रमाण पत्र नल्याएसम्म माछा अवैध मानिने उहाँले जानकारी दिनुभयो । बरामद एकसय ३५ किलो विभिन्न जातका माछालाइ तत्काल भद्रपुर पशुक्वारेनटाइनको परिसरमा नष्ट गरिएको उहाँको भनाइ छ ।

माछा कारोबारीले टाघनडुब्बा छोटी भन्सारमा ६ कार्टुन माछा राखेको सशस्त्र प्रहरीले चाल पाएपछि माछा भन्सार नकाटिएको वुझिएको छ ।