सिस्ने–धार्के नयाँ ट्र्याकले घट्ला त नागढुंगाको जाम ?


सुरेश तामाङ, काठमाडौं
मुलुकमा बढ्दो सवारी चापसँगै सवारी जामलाई कम गर्न सडक विभागले विभिन्न समयमा नयाँनयाँ योजना ल्याइरहेको छ। विभागको ती योजनाले गर्दा कतिपय स्थानमा त सवारी जाम कम भएको सफल उदाहरण पनि भेट्टाउन सकिन्छ।

विभागले विभिन्न निकायसँगको सहकार्यमा यस्ता योजना ल्याउने गरेको छ। सवारी जाम हटाउने र प्रदूषण कम गर्ने योजनास्वरूप २० वर्षे पुरानो सवारी हटाउनेदेखि अनेक योजना यसभित्र पर्दछ।

सडक चौडा गरी दुई लेनको बनाउनुपर्ने अनिवार्य नियम लागू गर्नेलगायत सुधारको राम्रो प्रयाससमेत नभएको होइन। नयाँ ट्र्याक खोलेर पनि समस्याको समाधान खोज्ने प्रयाससमेत भइरहेको छ।

फलस्वरूप विभागले यसका लागि धादिङको सिस्ने खोलादेखि धार्केसम्म सीधा पर्ने गरी नयाँ सडक खोल्ने योजना ल्याएको छ। विभागले यो सडकलाई काठमाडौं उपत्यकाको मुख्य नाका नागढुंगाको सवारी जामलाई समेत कम गर्न ल्याइएको बताइन्छ। विभागका इन्जिनियर छविलाल पौडेलले मुग्लिन–नागढुंगा सडकमा पर्ने सवारी चापलाई कम गर्न यस्तो योजना सोचिएको बताउनुभयो।

पृथ्वी राजमार्गको सिस्नेखोलाबाट शुरू भई उही राजमार्गको धार्केसम्म नयाँ सडक बन्नेछ। उक्त सडक ११ दशमलव २ किलोमिटरको हुनेछ। इन्जिनियर पौडेलले भन्नुभयो– ‘मुलुकमा स्ट्यान्डर्ड सडक बनाउने सरकारको योजनाअनुसार यो सडक बन्न लागेको हो। यो सडक पृथ्वी राजमार्गजस्तो घुमाउरो नभई सीधा र स्तरीय बन्नेछ।’

यातायात सञ्जाललाई व्यवस्थित गर्न सरकारले लिएको दीर्घकालीन सोचलाई पूर्ति गर्न यस्तो योजना ल्याउनुपरेको विभागले जनाएको छ। विभाग अहिले डिजाइन अध्यावधिक गर्ने काममा व्यस्त छ। एक वर्षअघि यस सडकका लागि डिजाइन भएको थियो। डिजाइन अध्यावधिकलगायत ऋण सम्झौताको कार्यलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना विभागको छ।

विभागले यस सडक निर्माण सम्पन्न भइसकेपछि नागढुंगामा ८५ प्रतिशतले सवारी जाम कम हुने विश्वास लिएको छ। ‘विभाग अहिले डिजाइन अध्यावधिक गर्ने काममै व्यस्त छ। आगामी आर्थिक वर्षभित्र यो चरण पार गर्ने योजना छ। त्यसपछि खरिद प्रक्रियामा जाने योजना छ’ –इन्जिनियर पौडेलले बताउनुभयो।

यस सडकका लागि २० अर्ब लाग्ने आँकलन गरिएको छ भने ऋण विश्व बैंकसँग लिने तयारी विभागको छ।
यातायात सञ्जाललाई व्यवस्थित गर्न सरकारले लिएको दीर्घकालीन सोचलाई पूर्ति गर्न यी योजना ल्याउनुपरेको विभागले जनाएको छ।