हावाहुरी पीडितलाई सांसद चौधरीको सहयोग


काठमाडौं ।  नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली काँग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पुर्याए लगत्तै सहयोग उपलब्ध गराउनुभएको हो ।

जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ । र, घरहरूमा समेत क्ष्ँति पुर्याएको छ । ‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु ।

नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भन्नु भएको छ ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’

विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवस्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था मिलाउनु भएको हो ।

पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराउनु भएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ ।

जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ । जसका कारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ ।

हुरीसगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भुर्तेलल बताउनुभयो । हावाहुरी र चर्को गर्मीको यस मौसममा छानो समेत उडाउदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन् ।

देबचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण विचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताउनु भयो ।  देबचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले  सांसद एवं देशकै वरिष्ठ उद्योगपति बिनोद चौधरीले आफ्नो जिल्लावासीका लागि साँच्चिकै अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

‘सांसद विनोद चौधरी नवलपुरवासीको सुख दुःखमा हामीसगै पाउदा हामीलाई निकै उत्साह मिलेको छ ।’ मेयर श्रेष्ठले भन्नुभयो– नवलपुरमा सीजी इन्डस्ट्रियल पार्क रहनुले हाम्रा लागि धेरै सकारात्मक योगदान पुगेको छ । हामी समस्यामा पर्दा हाम्रो साथी सीजी बन्दै आएको छ ।’

जनतालाई परेको दुःख सांसद बिनोद चौधरीले तत्काल गरेको यो सहयोगले हावाहुरीबाट बास गुमाएका विपन्न नागरिकले आफ्नो घर पुनर्निर्माण गर्न ठूलो राहत महसुस गरेका छन् ।