१ करोडमा त भ्रष्टाचार भयो १० मा नहोला र ?


सुरेश तामाङ, काठमाडौं ।
केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ ।

कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई आफ्नो क्षेत्रमा विकासका कार्यक्रम आफ्नै कोषमार्फत चलाउन पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।

चालु आर्थिक वर्षमा चार करोड रुपियाँ बजेट आफ्नै कोषमार्फत कार्यक्रम बनाएर चलाइरहेका सांसदहरुले त्यही रकम पनि अपुग भएको भन्दै त्यसमा ६ करोड थपेर १० करोड बजेट आउनुपर्ने अड्डी कसेका छन् ।

सांसदहरुको यस्तो अभिव्यक्तिलाई सर्वसाधरणले भने बजेट पचाउने मेलो मात्रै भएको भन्दै यो काम तत्काल बन्द गर्नुपर्ने धारणा राखेका छन् ।

‘यस्तो किसिमको बजेट बालुवामा पानी हालेकोजस्तो मात्रै हुन्छ । हामीले धेरै सुनौँ र हेरौँ ।’, भृकुटीमण्डपमा चिया पसल गर्दै आएकी सुनसरीकी कमला महतले बताउनुभयो–‘विकास सुन्य हुन्छ । त्यही भएर यो काम छैन । बन्द गर्नु बेस ।’

यस्ता बजेटले विकासको विपरित कार्य गर्ने उहाँको दावी थियो । सांसदलाई बजेट चलाउन दिन नहुने कतिपयको भनाइ छन् । जावलाखेलमा भेटिएका ट्याक्सी चालक झापाका विमल तामाङले पहिला नै बजेट चलाएर विकास नगरी अनियमितता मात्रै गरेकोले यस्तो बजेट रोक्नुपर्ने धारणा राख्नुभयो ।

उहाले भन्नुभयो–‘पहिला १ करोड चलाउँदा व्यापक अनियमितता भएको थियो । अहिले चार करोडमा त भनि नसक्नु छ । १० करोड पाउँदा भुँईँमा खुट्टा हुन्न होला । त्यसकारण बकवासमा भ्रष्टाचारका लागि बजेट नछुट्याउनु नै बेस ।’
पाटनमा भेटिएका अर्का ट्याक्सी चालक बर्दियाका कलसुराम चौधरीले पार्टी र पार्टी कार्यकर्तालाई मात्रै हुने गरी छुट्टिने यस्तो बजेट अबको बजेटबाट हटाउनुपर्ने बताउनुभयो ।

‘यो सब पार्टी र कार्यकर्ता पाल्ने उपाय मात्रै हो । यो बजेटले सांसदको क्षेत्र र त्यहाँका जनताका लागि होइन । अहिलेसम्म यस्तै भइरहेको छ’, उहाँले भन्नुभयो ।

यस्तै बसन्तपुरमा मालाको पसल गर्दै आएका श्याम श्रेष्ठले नीति नियम बनाउन पठाएका सांसदले नै बजेट चलाउने कुराले अनियमितताको दुर्गन्ध आएको टिप्पणी गर्नुभयो । ‘सांसदलाई त हामीले नीति नियम बनाउन पठाएको हो नि । बजेट बाँडफाँट गरेर भ्रष्टाचार गर्न भनेर पठाएको होइन नि त ।’, उहाँको ठहर थियो ।