नौ जनाको हत्या काण्डः हत्याराको खोजी शुरू, जिल्लाका नाकाहरू थुनियाे

0
Shares

पाँचथर । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा अनुहार छोपेर आएका व्यक्तिहरूले दुई परिवारका नौ जनाको हत्या गरेको प्रारम्भीक जानकारी आएको छ ।

९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिका सीता खाजुमले अनुहार छापेर आएका व्यक्तिहरूले धमाधम धारिलो हतियार प्रहार गरी हत्या गरेको बताएकी छिन् ।

सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे ।’

पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या भएको थियो । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो ।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करीब ६० किलोमिटर टाढा पर्छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन् । स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए ।

बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ । धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन् ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् । सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ ।

पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ ।

हत्या कसले र किन गरेको भन्ने खुलिसकेको छैन । प्रहरीले हत्याराहरू भाग्न नसकुन् भनेर जिल्लाको नाकाहरू थुनेको छ ।