पूरा भएन घर बनाउने साझाको सपना, ९ वर्षदेखि सपनाको निरन्तरता

0
Shares

ईश्वरराज ढकाल, ललितपुर
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ललितपुरका प्रमुख चन्द्रकाजी गुरुङले भन्नुभयो– ‘सम्झौता अन्तिम चरणमा रहेको छ, नयाँ भवन करिब ३ वर्षभित्र निर्माण हुन्छ ।’ उहाँका अनुसार कोन्टे जेई जेभीले सोको ठेक्का पाएको छ ।

१८ करोड रुपियाँ लागत अनुमान गरिए पनि भ्याटबाहेक १३ करोड रुपियाँ बनाउन लागिएको उक्त भवनमा ऐतिहासिक पुस्तकसंग्रहका लागि पुस्तकालय, हल, प्रशासन भवन, साहित्यसँग सम्बन्धित विषयवस्तु समावेश गर्न मिल्ने कोठाहरु रहनेछन् ।

भवनमा साहित्यसँग जोडिएका सम्पूर्ण विषयवस्तुलाई समावेश गर्ने गरी नक्सा तयार गरिएको आयोजना प्रमुख गुरुङले बताउनुभयो । करिब ४ रोपनी क्षेत्रफलमा बन्ने भवन अत्याधुनिक हुनेछ ।

भवन निर्माण र बजेट निकासी गर्ने विषयमा प्राधिकरणले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । भवन नहुँदा भूकम्पबाट क्षतिग्रस्त घरमा बस्न बाध्य भएका साझाका कर्मचारीले तत्काल बनाउन माग गरेपछि सरकारले उक्त कार्य शुरु गरेको हो ।

उता नौ वर्षअघि शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छ । २०७० सालमा हस्तान्तरण गर्नुपर्ने उक्त भवन अहिलेसम्म नबनेको बताउँदै साझाका आर्थिक विभाग प्रमुख होम भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पुरानो भवन हस्तान्तरण गरेर नयाँ बनाएको भए संस्थालाई सजिलो हुने थियो । पुरानो पाएका छैनांै, नयाँको सुरसारै छैन ।’

चक्रेश्वरी मिचिको ज्वाइन्ट भेन्चरले त्यस बेला ४ करोड ७२ लाख रुपियाँमा ठेक्का पाएको सो भवन हालसम्म हस्तान्तरण हुन नसकेपछि २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले दाबी गर्नुभयो ।

तत्कालीन अध्यक्ष ममता झा र महाप्रबन्धक भिक्टर प्रधानको कार्यकालमा तत्कालीन कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको थियो । त्यस बेला ४ करोड रुपियाँमा निर्माण शुरु भएको सो भवन अहिले सम्पन्न गर्न ७ करोड २६ लाख रुपियाँ लाग्ने गरी नयाँ इस्टिमेट तयार भएको साझाले जनाएको छ । सोको इस्टिमेट आयोजना एकाइ ललितपुरले गरेको हो ।

करिब ७ रोपनी क्षेत्रफल ओगटेको साझा परिसरमा दुई नयाँ भवन बने सम्पूर्ण काम गर्न सजिलो हुने त्यहाँका कर्मचारी बताउँछन् ।