राप्ती लोकमार्गको ठेक्का रद्ध, यस वर्ष पनि जोखिम मोल्नुपर्ने बाध्यता

0
Shares

धनवीर दाहाल,रुकुम ।
वटासिल भएपनि जिर्ण बनेपछि बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुने राप्ती लोकमार्ग यस बर्ष पनि मर्मत नहुने पक्का भएको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिमले मर्मतका लागि प्रक्रिया अगाडि बढाएपनि अन्तिममा ठेक्का रद्द भएपछि मर्मत नहुने निश्चित भएको हो ।

रुकुम पश्चिम र रुकुम पूर्वको लाइफलाइनको रुपमा रहेको राप्ती लोकमार्ग मर्मत नहुँदा नजिकिँदै गरेको वर्षातमा दुःख खेप्नुपर्ने भन्दै स्थानीय चिन्तित भएका छन् । सडक जीर्ण बनेपछि अहिले पनि जिल्लाबाट दाङ, नेपालगञ्ज र काठमाडौँ सम्म जाने गाडीहरु विग्रिने, गन्तव्यमा पुग्न धेरै समय लाग्ने समस्या देखिएको छ ।

सर्वसाधारणलाई राप्ती लोकमार्ग अन्तर्गत सल्यानको श्रीनगरदेखि रुकुम मुसिकोटसम्मको सडकमा धेरैजसो स्थानमा दुईवर्ष अघि गरिएको वटासिल उत्रिएपछि धुलाम्मे बनेको छ । ‘कतिपय स्थानमा गतवर्ष मात्र वटासिल गरिएको थियो, त्यो पनि अहिले उप्किएर धुलाम्मे भैसक्यो ।’ त्रिवेणी गाउँपालिका –३ का मानबहादुर ओलीले भन्नुभयो, ‘अहिले त मर्मत होला भनेको, नहुने भएछ, वर्षामा धेरै दुःख पाइने भो ।’

सडक डिभिजन कार्यालयले यसअघि सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको मुसिकोट खलंगासम्म पूर्ण रुपले भत्किएको विभिन्न स्थानको गरेर ११ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको थियो । वर्षायाम सुरु नहुँदै लोकमार्ग मर्मत गरिसक्ने भन्दै जिल्ला स्तरीय टोलीले स्थलगत रुपमा अवलोकलन गरेपनि अहिले ठेक्का रद्द हुँदा त्यसको औचित्य समेत सकिएको छ ।

सडक मर्मत योजनाको लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अगाडि बढाएकोमा अन्तिममा प्राविधिक समस्याका कारण ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय रुकुम पश्चिमका प्रमुख इन्जिनियर नरेन्द्र भट्टले बताउनुभयो । लोकमार्गका अन्य खाल्डाखुल्डी मर्मत गरेर राम्रो बनाउने योजना भएपनि ठेक्का रद्द भएपछि यस रुटमा हिड्ने सवारी साधनहरुले दुःख पाउने देखिएको छ । अलि धेरै खाल्डाखुल्डी भएको स्थानमा सामान्य रुपमा गिट्टी तथा माटोले भएपनि पुरपार गरिने इन्जिनियर भट्टले बताउनुभयो ।

राप्ती लोकमार्गको अति जोखिमपूर्ण रहेको पितिवाङ खोलामा पक्की पुल निर्माणका लागि भने ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको बताइएको छ । अहिले ठेक्का सम्झौता भएपनि पुल निर्माणका लागि कम्तीमा दुईवर्ष लाग्ने भएकोले अस्थायी रुपमा खोलाको व्यवस्थापन गर्नुपर्नेमा स्थानीयको जोड रहेको छ ।