उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन


काठमाडौँ ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३१४औँ हप्तामा बानेश्वर क्याम्पसअघिको नदी क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २३ संस्थाको सक्रियता थियो । सफाइमा ७०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मी पनि सहभागी हुनुभएको थियो । सफाइमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिइ बसेका १०० जनाभन्दा बढी छात्रछात्राको पनि सहभागिता रहेको थियो । वाग्मतीको तिलगङ्गा क्षेत्रको २१५औँ हप्ताको सफाइ पनि आज बानेश्वर क्याम्सअघिको क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका वडा नं ८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको पनि सक्रियतामा थियो । जनचेतनामूलक सफाइका क्रममा ‘फोहर र प्लाष्टिक नजलाऔँ’ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो ।

यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७५ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा २०० भन्दा धेरै अभियानकर्मीको सहभागिता रहेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । आज यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

घरको फोहर व्यवस्थापन नगर्नेलाई नदीमा नआउन अभियानले आह्वान गरेको छ । कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर मात्र व्यवस्थापन गरिएको जनाइएको छ । रुद्रमती सफाइ अभियानको २६८औँ हप्तामा रातोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दाबढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सो अवसरमा नदी किनारका बिरुवा पनि गोडमेल गरियो । विष्णुमती सफाइको २४१औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ११ नमूना नगर र टोखा नगरपालिका वडा नं ९ आनन्द टोलबाट उत्तरतर्फको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेयले राससलाई जानकारी दिनुभयो । सफाइमा १२० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । नेपाली सेनाले पनि सफाइमा सहयोग गरेको थियो । विनायक सरसफाइ प्रालिले सङ्कलन भएको फोहर उठाउन सहयोग गरेको जनाइएको छ ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२४औँ हप्ताको सफाइ गरियो । एक सय १६ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिनुभयो । मनोहरा नदी सफाइको ११३औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो । सफाइमा सुरक्षा निकाय, सञ्जय साई अर्गनाइजेसन, स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासी गरी १५० भन्दाबढी अझियानकर्मीको सक्रियता थियो ।

चत्रपथ सफाइ अभियानको ११०औँ हप्तामा नयाँ वसुन्धरा चोकबाट ग्रिनसिटी अस्पतालसम्मको क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । दुई सय ५० भन्दाबढी अभियानकर्मीको सहभागितामा भएको सफाइमा सुरक्षा निकायको पनि सक्रियता थियो ।

सो अवसरमा घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो । वर्षौंदेखि यस क्षेत्रको सडकमा पार्क गरी राखिएको पुरानो बस फुटाएर सडक फोहर हुनबाट जोगाइएको उहाँले बताउनुभयो ।

वसुन्धरा चोक क्षेत्रमा बनेको माटोको ढिस्कोले सडक दुर्घटना गराएकाले स्थानीय विष्णुप्रसाद पोखरेलको सहयोगमा डोजर लगाएर सम्याइ सडक सुरक्षाका लागिसमेत काम गरिएको अभियानकर्मी रेणुका गुरुङले सुनाउनुभयो । आलोकनगर सफाइको ११०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा घरदैलोसमेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो । टोल घरदैलो अभियानअन्तर्गत प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो । एकै स्थानबाट सफाइ अभियानकर्मीले एक ट्रक गाँजा उखेलेको पनि उहाँले बताउनुभयो ।

आलोकनगर सफाइ गर्दै महिला समूह शान्तिनगर हुँदै बानेश्वर क्याम्पसअघि वाग्मती सफाइ महाअभियानमा समेत सहभागी भएको जनाइएको छ । शुक्रबार भिएस निकेतन विद्यालयका विद्यार्थीको समूहले पनि त्यस क्षेत्रमा सफाइ गरेको जनाइएको छ ।

चक्रपथ बाफल खण्ड सफाइको ९२औँ हप्तामा कलङ्कीचोकबाट सोल्टीदोबाटोसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तीनै सुरक्षा निकायका साथै अभियानकर्मी गरी सफाइमा १०० भन्दाबढीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । वाग्मतीलगायत नदी सफाइ अभियान महत्वपूर्ण चाडपर्वमा पनि रोकिएको छैन । महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोसरुपमा काम हुन सकेको छैन ।
रासस