‘पार्टी महाधिवेशनको तयारीमा छौँ’

0
Shares

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताए। उनले अधिवेशन वा निश्चित प्रक्रियामार्फत संगठनलाई मजबुत बनाउने धारणा राखे।

संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने  दाहालको भनाइ छ। ‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन्’, उनले भने, ‘यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।’ स्व. मदन भण्डारीले थालेको आन्दोलनलाई थप उचाइमा पुर्‍याउन सिंगो पार्टी नै लाग्ने उनकाे भनाइ छ। प्राप्त उपलब्धिलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नुपर्ने उनले बताए। दाहालले विगतका उपलब्धि संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए।

 ‘विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन’, उनले भने, ‘हामीले अन्धो भएर एकता गरेका होइनौँ। हामी नयाँ प्रक्रियामा जाँदैछौँ।’ जनताको बहुदलीय जनवादलाई  वैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने आजको आवश्यकता भएको दाहालको भनाइ थियो।