आँखाको पनि क्यान्सर हुन सक्छ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ
आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।
चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन् । उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत भन्नुहुन्छ– ‘गाउँघरका धेरै बिरामी सुरुमा सामुदायिक आँखा केन्द्र जाने भएकाले जिल्लास्थित तिनै केन्द्रमा यसबारे जनचेतना फैलाउनुपर्दछ । साथै विद्युतीय सञ्चारमाध्यम प्रयोग गरी आँखा बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्नुपर्दछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी पनि यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै भन्नुहुन्छ– ‘हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती र सुत्केरी महिलालाई मात्रै जानकारी दिन सकेमा धेरैले समयमै उपचार गराउँथे ।’

आँखाको क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार वार्षिक ३५ देखि ४० जना नयाँ बिरामी आउँछन् । पहिले शल्यक्रिया नै गर्नुपर्दथ्यो अहिले नयाँ प्रविधिको प्रयोग गरी बिनाशल्यक्रिया उपचार गरिन्छ ।

धेरै बिरामीले अचम्म मान्दै आँखाको क्यान्सर हुन्छ र भनेर सोध्ने गरेको बताउँदै उक्त अस्पतालतर्फका उपनिर्देशक प्रा.डा. रोहित सैंजु भन्नुहुन्छ–‘यो रोग ५ वर्षमुनिका बालबालिकालाई हुनेमा ९० प्रतिशतमा त ३ वर्ष उमेर नपुग्दै देखा पर्छ ।’ उहाँ थप्नुहुन्छ– ‘नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत रहेको छ तर विकसित देशहरुमा १ प्रतिशत भन्दा कम पाइन्छ । विकासोन्मुख देशमा अधिकतम मृत्युदर हुनुको प्रमुख कारण अशिक्षा, अन्धविश्वास, गरिबी तथा दक्ष चिकित्सक र उपकरणहरुको अभाव हो ।’

प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन तथा नेप्लिज सोसाइटी अफ अकुप्लास्टिक सजर्नका महासचिव डा. बेन लिम्बको विचारमा यो रोग लाग्नुको मुख्य कारण शिक्षा र जनचेतनाको अभाव नै हो । यससम्बन्धमा हामीले ७ वटा प्रदेशको २७ वटा अस्पतालमा अनुसन्धान र जनचेतनामूलक कार्यक्रम शुरु गरेका छौं ।’

यसरी नै जनचेतना फैलाउने उद्देश्यका साथ तिलगंगा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्यचिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजना गत वैशाख २९ गतेदेखि आयोजित अभियानमा पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमा समूह र बालबालिकामा रोग लाग्दा हुने दृश्य, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस, आमसञ्चार माध्यमबाट प्रचारप्रसार गर्नेजस्ता कार्यक्रम आयोजना गरिँदै छ ।

यसै सन्दर्भमा आयोजित कार्यक्रममा क्यान्सरपीडितहरुको उपचारार्थ आर्थिक सहयोगका लागि खोलिएको ओपन आई ग्लोबलद्वारा संकलन गरिएको ४ लाख रुपियाँको चेक नेपाल क्यान्सर रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठमार्फत सोही प्रतिष्ठानका कार्यकारी अधिकृत डा. रीता गुरुङलाई प्रदान गरियो । यो कार्यक्रम भोलि जेठ ४ गते शनिबारसम्म जारी रहने बताइएको छ ।