भोटाहिटी र बबरमहलमा नेपाल प्रहरीकाे दुईवटा ब्यूरो स्थापना

0
Shares

काठमाडौं । नेपाल प्रहरीमा दुईवटा ब्यूरो स्थापना भएका छन् । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन ब्यूरो बबरमहलमा स्थापना भएको हो ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो ।

गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्ने भएका छन् ।

हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन ब्यूरोमा ६० दरबन्दी रहनेछ । साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक डिआइजी र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली चेलीबेटीको बेचबिखनमा कमी ल्याउने र वैदेशिक रोजगारीमा जाने जो–कोहीलाई पनि बेचिनबाट जोगाउन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

आईजीपी खनालले भवन उद्‍घाटन तथा कार्यालय शुभारम्भका अवसरमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय बबरमहलमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै खनालले मानव बेचबिखन तथा साइबर अपराधको चपेटाबाट नागरिकलाई सुरक्षित राख्न दुबै ब्यूरोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सरकारको नीति कार्यान्वयन गर्ने कामको सँगसगै प्रहरी संगठन र विभिन्न विभाग, मन्त्रालयहरुको मूल उद्देश्य नागरिकलाई सेवा प्रदान गर्ने हो भन्ने चर्चा गर्दै आईजीपी खनालले सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरुले एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

यस्ता अपराधबाट पीडितलाई न्याय दिलाउने कार्यमा सहज व्यवस्था मिलाउन समेत सबै सरोकारवाला निकायहरुले समन्वय गर्दै जानुपर्ने उनले बताए ।

आगामी दिनमा दुबै ब्यूरोलाई विज्ञ जनशक्ति, आवश्यक प्रविधि तथा साधनस्रोत सहित थप व्यवस्थित गर्दै लैजानेतर्फ संगठनको प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै खनालले भविष्यमा मानव बेचबिखन तथा साईबर अपराधबाट कोही पनि पीडित नहुन् भन्नेतर्फ दुवै ब्यूरोले विशेष भूमिका खेल्ने विचार व्यक्त गरे ।

मानव बेचबिखन तथा भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाई नेपाल प्रहरीले सबै सरोकारवाला निकायसँग सहकार्य र प्रभावकारी समन्वय गर्दै अगाडि बढ्ने उनले बताए ।