तेस्रो पक्षिय अनुगमनलाई प्रभावकारी बनाउने स्थानीयको निर्णय


धनवीर दाहाल,रुकुम ।

विकास निमार्णलाई जनमुखी बनाउनका लागी तेस्रो पक्षको अनुमगन अति आबश्यक रहेको ठहर स्थानीय तहले गरेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले अगामि आर्थीक बर्षदेखी तेस्रो पक्षिय अनुगमनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।

साँझेदारी मञ्चको बैठकबाट आर्थिक बर्ष २०७६÷०७७ मा तेस्रो पक्षिय अनुगमनमा बिशेष जोड दिने गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो । गाउँपालिकामा भइरहेका बिभिन्न बिकासका गतिविधीलाई प्रभावकारी र जनमुखी बनाउनका लागि तेस्रो पक्षिय अनुगमनमा आवश्यक रहेको बैठकको निष्कर्ष थियो ।

यसका साथै बैठकमा स्थानिय सरकारको सेवा प्रवाहका बिषयमा नागरिक अन्तरक्रियालाई बढाउन यसअघि गठन गरिएका स्थानिय सभालाई थप व्यवस्थित र बृहत बनाउदै स्थानिय सरोकार मञ्च बनाउने, गाउँपालिकाको सुशासन निति पारित गर्न गाउँ कार्यपालिका मार्फत गाउँसभामा लौजाने, हरेक वडाहरुमा नियमित सार्वजनिक सुनुवाई गर्ने, अगामि आर्थीक बर्षदेखी गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राख्ने, जेठ पहिलो साताभित्र बजार अनुगमन गर्ने र कृषी तथा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक निति तथा योजना बनाउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

‘सेवालाई प्रभावकारी बनाउन र स्थानिय सरकारका कामलाई जनमुखी बनाउन साझेदारी मञ्चको बैठकले महत्वपुर्ण निर्णय गरेको छ ।’ उहाँले भन्नुभयोे, ‘गरिएका निर्णयहरुको प्रभावकरी कार्यन्वयनका लागि हामि योजना बनाएर लाग्ने छौ ।’

सुशासन र जवाफदेहिता कायम गर्नका लागि गाउँपालिकाको प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा बैठकका सहभागिहरुको बिशेष जोड थियो । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा रहेको गाउँपालिका स्तरिय साझेदारी मञ्चमा गाउँपालिका उपाध्यक्ष, १० वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य, शिक्षा, कृषी र विपत व्यवस्थापनका शाखा प्रमुख सदस्य रहेका छन् ।

यस मञ्चमा सेवा प्रवाहका क्रममा उठेका सवाल तथा समस्याको समाधानका लागि हरेक चार÷चार महिनामा बैठक आयोजना गरी छलफल गर्ने गरिएको छ । हरप्लेस नेपालद्धारा संञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत हरप्लेसको सहजिकरणमा बैठक आयोजना गरिएको थियो ।